२४ चैत,काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत सुझाव सरकारसमक्ष प्रस्तुत गरेको छ।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा भेटी बधाई दिँदै आफ्ना धारणा राखेको हो।
भेटका क्रममा नाइमाले अटोमोबाइल क्षेत्रलाई विलासिताभन्दा आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिँदै स्थिर, पूर्वानुमानयोग्य र सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गरेको छ। साथै, कर संरचना सरल र सन्तुलित बनाउनुपर्ने तथा ८०/२० अनुपातमार्फत वित्तीय पहुँच सहज बनाउनुपर्ने माग पनि गरिएको छ।
संघले भन्सार क्लियरन्सपछि अडिट तहमा फरक व्याख्याका कारण बेरुजु उठ्ने प्रवृत्तिले व्यवसायमा अन्योलता सिर्जना गरेको औँल्याएको छ। त्यसैगरी, विद्युतीय र हाइब्रिड सवारी साधनको स्पष्ट वर्गीकरण तथा सबै प्रविधिमा समान कर व्यवस्था हुनुपर्ने आवश्यकता पनि जोड दिइएको छ।
नाइमाले भन्सार प्रक्रिया सहज बनाउने, परीक्षण पूर्वाधार विकास गर्ने, यातायात ऐन पुनरावलोकन गर्ने, डिजिटल प्रणालीको एकीकरण गर्ने, सडक सुरक्षा र प्रदूषण नियन्त्रणलाई प्रभावकारी बनाउनेलगायतका विषयमा सुझाव प्रस्तुत गरेको छ।
अर्थमन्त्री वाग्लेले प्रस्तुत सुझावहरू सान्दर्भिक रहेको उल्लेख गर्दै आयातकर्ता र उत्पादकको तर्फबाट एकीकृत रूपमा सुझाव आएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनले अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान, रोजगारी सिर्जना र गतिशीलतामा खेलेको भूमिकाको प्रशंसा गरे।
साथै, यस क्षेत्रबाट उठ्ने कर राजस्वको केही हिस्सा पुनः यही क्षेत्रको विकासमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक रहेको विश्वास समेत व्यक्त गरेका छन्।


















