२४ चैत,वीरगञ्ज । वीरगञ्जको वडा नम्बर २ छपकैया र वडा नम्बर १६ इनर्वामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महानगर कमिटीको आयोजना अन्तर्गत अगुवा कार्यकर्ता भेटघाट तथा चिया चर्चा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महानगर अध्यक्ष अमन आलमले रास्वपा सरकारमा सहभागी भएदेखि हालसम्म भएका प्रगति र आगामी कार्ययोजनाबारे विस्तृत रूपमा जानकारी दिएका थिए। अध्यक्ष आलमले पार्टीले अहिलेसम्म कुनै पदको उम्मेदवार चयन नगरेको स्पष्ट गर्दै, अनावश्यक प्रचारप्रसार गर्नेहरूको भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे। उनले नीति विपरीत उम्मेदवारीको प्रचार गर्नेहरूको विषयमा कडा कारबाहीका लागि पार्टी मुख्यालयमा जानकारी गराइसकेको समेत बताए।
अध्यक्ष आलमले आम नागरिकले देशको विकास, सुशासन र समृद्धिका लागि रास्वपालाई मतदान गरेको स्मरण गराउँदै, पार्टी सभापतिले सबैलाई पक्षपात नगरी निस्वार्थ रूपमा जनताको सेवामा लाग्न निर्देशन दिएको जानकारी गराए।
सो अवसरमा उनले केही दिनभित्रै पार्टी कार्यालय र जिल्ला अध्यक्ष तथा हरि पन्तको सचिवालय कार्यालय सञ्चालनमा आउने जानकारी पनि दिएका थिए।
कार्यकर्तालाई विनम्र र सहयोगी बन्न, कसैलाई धम्की नदिन र सरकारी कार्यालयमा उचित व्यवहार कायम राख्न निर्देशन दिइएको थियो। अध्यक्ष आलमले सम्पूर्ण नागरिकलाई आफ्नै परिवारजस्तो सम्झेर सरकारी संयन्त्रलाई सशक्त र प्रभावकारी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए।
उहाँले आगामी दिनमा स्थानीय र प्रदेश तहबाट कार्यान्वयन हुने विकास योजनाहरूमा केन्द्रित भएर संगठन विस्तारमा लाग्न कार्यकर्ताहरूलाई आह्वान समेत गरे।

















