२४ चैत, काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदका लागि सत्तारुढ दलहरूबीच रस्साकस्सी सुरु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख पदमा आफ्नो पार्टीको दरिलो दाबी रहने स्पष्ट पार्नुभएको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्य संयोजन समितिको बैठकमा सहभागी हुन पुग्नुभएका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो धारणा राख्नुभएको हो ।
प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डिपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । सोही पृष्ठभूमिमा उपसभामुख पदका लागि भने सत्तारुढ गठबन्धनभित्रै विभिन्न दलहरूले आ(आफ्नो दाबी पेश गरिरहेका छन् । प्रचण्डले आफ्नो पार्टीको दाबी रहेको बताए पनि यसबारे रास्वपा लगायतका अन्य सत्ता साझेदार दलहरूसँग अहिलेसम्म ठोस छलफल र सहमति भइनसकेको जानकारी दिनुभयो ।
उपसभामुखको दौडमा प्रचण्ड नेतृत्वको नेकपासँगै नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आफ्नो अडान कायम राखेका छन् । सभामुख र उपसभामुख एउटै दल र लिङ्गको हुन नपाउने संवैधानिक व्यवस्थाका कारण पनि अहिले दलहरूबीच शक्ति सन्तुलन मिलाउन गृहकार्य भइरहेको छ । प्रचण्डको यो पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनभित्र आगामी दिनमा पदीय भागबण्डालाई लिएर थप छलफल तीव्र हुने संकेत गरेको छ ।

















