२४ चैत,वीरगञ्ज । गण्डक नहरअन्तर्गत तिलाबे खोलामा निर्माणाधीन बेलिब्रिज (फलामे पुल) जडान कार्य सुस्त गतिमा अघि बढिरहेको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण हालसम्म कामको भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै पुगेको छ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय अन्तर्गत निर्माण भइरहेको उक्त पुलको ठेक्का ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालिले लिएको हो। करिब २ करोड ४६ लाख ६० हजार ८ सय रुपैयाँ लागत रहेको यो आयोजना २०२५ डिसेम्बर १५ देखि सुरु भई २०२६ मे १५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर, निर्माणको वर्तमान गति हेर्दा तोकिएको समयमै काम सम्पन्न हुनेमा अन्योल देखिएको छ।
तीन वर्षअघि आएको बाढीले सोही स्थानमा रहेको आरसीसी पुलमा क्षति पुर्याएपछि सवारी आवागमन प्रभावित भएको थियो। पुलको पिलरमा क्षति पुगेपछि जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यद्यपि पैदलयात्री, साइकल तथा मोटरसाइकल प्रयोगकर्ता भने अझै जोखिम मोलेर आवतजावत गर्दै आएका छन्।
जिल्ला सदरमुकाम वीरगञ्जलाई उत्तर–पश्चिमी क्षेत्रसँग जोड्ने गण्डक नहरको एप्रोच सडकमा पर्ने यो पुल जिल्लाका करिब ४० प्रतिशत बासिन्दाको आवागमनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। पुल पुनर्निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन्।
स्थानीयका अनुसार यदि पुलमा थप क्षति पुगेमा गण्डक नहरको साइफनमा असर पर्न सक्ने र सिँचाइ प्रणाली नै अवरुद्ध हुने जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ।

















