२४ चैत,वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशको सातौं प्रदेश सभा तथा निर्वाचन २०८२ को उद्घाटन समारोह जनकपुरमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन महासंघका अध्यक्ष अशोक टेमानी र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले संयुक्त रूपमा गमलामा पानी हालेर गरेका थिए। कार्यक्रम अध्यक्ष टेमानीकै अध्यक्षतामा सम्पन्न भएको थियो भने मुख्यमन्त्री यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गोविन्द थपलिया र कृष्ण ढकाललगायत विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधि, पदाधिकारी तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष टेमानीले मधेश प्रदेशको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आर्थिक रूपमा प्रदेशलाई सुदृढ बनाउन महासंघ प्रतिबद्ध रहेको बताए। उनले लगानीमैत्री वातावरण निर्माण, नयाँ आर्थिक सम्भावनाको पहिचान तथा नीतिगत सहजीकरणमार्फत निजी क्षेत्रलाई सशक्त बनाउने लक्ष्य रहेको स्पष्ट पारे।
“मधेश प्रदेशलाई समृद्ध बनाउन निजी क्षेत्रको विकास अपरिहार्य छ,” उनले भने, “यसका लागि लगानीको वातावरण सुधार र नीतिगत सहजतामा विशेष ध्यान दिनुपर्छ।”
कार्यक्रमका अवसरमा वर्षभर उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। साथै ‘समृद्ध मधेश’ नामक पुस्तकको विमोचन समेत गरिएको छ, जसमा प्रदेशको विकास, लगानी सम्भावना र नीतिगत मार्गचित्र समेटिएको छ।
कार्यक्रम सञ्चालन संजय साहले गरेका थिए।


















