Logo

२५ चैत,काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताएका छन्।

आज आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गरे।

प्रधानसेनापति सिग्देलले सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम र सुदृढ संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले देशको सार्वभौमिकताको रक्षासँगै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको भूमिकाले यसलाई स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए।

यसैगरी, उनले नेपाली सेनाको कल्याणकारी बोर्डमार्फत लाभग्राहीलाई एउटै छानामुनि सेवा प्रदान गर्न सञ्जाल विस्तारको काम भइरहेको जानकारी दिए।

तर समग्र आर्थिक क्षेत्रमा आएको सुस्तता, बैंकिङ क्षेत्रमा देखिएको चुनौती, मुद्दती निक्षेपको ब्याज आम्दानीमा आएको गिरावट तथा शान्ति स्थापनामा खटिने फौजको सङ्ख्यामा भएको कमीले कल्याणकारी कार्यक्रमको सञ्चालन र दिगोपनामा चुनौती थपिएको उनले उल्लेख गरे।


सम्बन्धित समाचार