२५ चैत,वीरगञ्ज । वीरगञ्जस्थित यातायात कार्यालय अगाडि रहेका लेखापढी व्यवसायीहरूले आफ्नो व्यवसाय पूर्ण रूपमा बन्द गर्दै विरोध जनाएका छन्। ‘विचौलिया’को आरोपमा प्रहरीले पक्राउ गर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन्।
व्यवसायीहरूका अनुसार कार्यालय परिसरमा प्रवेश गर्नासाथ प्रहरीले अनावश्यक रूपमा नियन्त्रणमा लिने तथा दुर्व्यवहार गर्ने गरेको छ। आफूहरू वैधानिक रूपमा सेवा प्रदान गर्दै आएको दाबी गर्दै बिना कारण ‘विचौलिया’को आरोप लगाएर पक्राउ गर्न थालिएपछि बाध्य भएर सटर बन्द गर्नुपरेको एक व्यवसायीले बताए।
यता प्रहरीले भने विचौलियामार्फत सेवाग्राही ठगिने गुनासो बढेपछि निगरानी र कारबाही कडा बनाइएको जनाएको छ। प्रहरीका अनुसार वास्तविक व्यवसायी र अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई छुट्याएर आवश्यक कारबाही गरिनेछ।
यस घटनाका कारण सेवाग्राहीहरू प्रभावित भएका छन् भने यातायात कार्यालयको दैनिक कामकाजसमेत प्रभावित बनेको छ।

















