Logo

२६ चैत, काठमाडौं ।  प्रहरी हिरासतबाट प्राविधिक रूपमा मुक्त भए पनि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आगामी सोमबारसम्म अस्पतालमै रहने भएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको पित्तथैलीमा समस्या देखिएकाले चिकित्सकहरूले सोमबार शल्यक्रिया गर्ने योजना बनाएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेकाले शल्यक्रियाका लागि केही दिन कुर्नुपर्ने देखिएको हो । शल्यक्रियाबारे ओलीसँग आवश्यक परामर्श गरिए पनि सोमबार अघि उनी डिस्चार्ज हुने सम्भावना न्यून रहेको अस्पताल स्रोतले जनाएको छ ।

गत चैत १४ गते जेनजी आन्दोलनमा दमन गरेको आरोपमा बालकोटस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको थियो । बुबा मोहनप्रसाद ओलीको निधनपछिको क्रियाकर्म र चुनावी धपेडीका कारण कमजोर बनेका उनको मुटुको धड्कनमा उतारचढाव देखिएपछि ‘एनेक्स–१’ को बेड नम्बर ५०१ मा राखेर उपचार सुरु गरिएको थियो ।

यतिबेला सर्वोच्च अदालतको आदेशानुसार प्रहरीले उनलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएर हिरासतमुक्त गरिसकेको छ, तर स्वास्थ्य उपचारको आवश्यकताका कारण उनी घर फर्कन पाएका छैनन् ।

सर्वोच्च अदालतले २६ चैतभित्रै अनुसन्धान टुङ्ग्याउन वा सर्तसहित रिहा गर्न आदेश दिएपछि प्रहरीले उनलाई अस्पतालमै आफन्तको जिम्मा लगाएको हो । बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले अनुसन्धानका नाममा लामो समय थुनामा राख्न नहुने स्पष्ट पारेपछि यो प्रक्रिया सम्भव भएको हो ।

हिले ओलीको कानुनी स्थिति सहज भए पनि शारीरिक स्वास्थ्यका कारण उनी अझै केही दिन चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रहनेछन् । शल्यक्रिया सम्पन्न भएपछि मात्र उनको स्वास्थ्य र घर फिर्तीबारे थप निर्णय लिइनेछ ।


सम्बन्धित समाचार