२६ चैत, काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारको टोली बिहीबार मुद्दाको विस्तृत फाइल लिएर विशेष अदालत पुगेको हो । अदालत स्रोतका अनुसार हाल कर्मचारीहरूले अभियोग पत्रमा उल्लेखित विवरण र दसीप्रमाणहरू रुजु गर्ने काम गरिरहेका छन् । चिनियाँ तस्कर समूहसँग महरा र उनका छोरा राहुलको प्रत्यक्ष टेलिफोन सम्पर्क र शंकास्पद कारोबार देखिएपछि अख्तियारले उनीमाथि कानुनी कारबाही अघि बढाउने अन्तिम निर्णय लिएको हो ।
यो प्रकरण २०७९ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले बरामद गरेको भेपबाट सुरु भएको थियो । भन्सारले रोकेको सामान छुटाउन महरा बाबुछोराले पटक(पटक दबाब दिएको र चिनियाँ गिरोहलाई तस्करीमा सहयोग पुर्याएको अनुसन्धानबाट खुलेको छ ।
यसअघि नै उनका छोरा राहुल यही प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् भने पूर्वसभामुख महरालाई पनि सिफारिस समितिले दोषी ठहर गरिसकेको थियो । उच्च ओहोदामा रहेका व्यक्तिले तस्करसँग मिलेमतो गरी राज्यकोष र सुरक्षा व्यवस्थामा आँच पुर्याएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचारको गम्भीर अभियोग लगाएको छ ।
विशेष अदालतमा दर्ता हुने यस मुद्दामा महरामाथि कति बिगो र सजायको मागदाबी गरिएको छ भन्ने कुरा भने अभियोग पत्र दर्ता प्रक्रिया सकिएपछि मात्र सार्वजनिक हुनेछ । लामो समयदेखि राजनीतिक संरक्षणका कारण उनी जोगिँदै आएको चर्चा भइरहेका बेला संवैधानिक निकाय अख्तियारले मुद्दा लैजानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो कदमले सुन तस्करीको जालोमा संलग्न राजनीतिक नेतृत्वमाथि कानुनी सिकन्जा कसिएको संकेत दिएको छ भने संसद्को पूर्वनेतृत्व नै भ्रष्टाचारको कठघरामा उभिनुपर्ने स्थिति सिर्जना भएको छ ।

















