Logo

२७ चैत, काठमाडौँ । सरकारले साताको दुई दिन बिदा दिने नीति अवलम्बन गरे पनि स्वास्थ्य सेवा जस्तो अत्यावश्यक क्षेत्रमा भने त्यसको प्रत्यक्ष प्रभाव पर्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष तदारुकता देखाएको छ ।

मन्त्रालयले शुक्रबार एक विशेष विज्ञप्ति जारी गर्दै आइतबारको सार्वजनिक बिदाका दिन पनि देशभरका अस्पतालहरूमा ओपिडी (बहिरङ्ग) सेवालाई निरन्तरता दिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएको छ । नागरिकको स्वास्थ्य उपचार पाउने मौलिक हकलाई ध्यानमा राख्दै बिदाको दिनमा पनि अस्पतालका ढोकाहरू खुल्ला राख्ने मन्त्रालयको यो निर्णयले बिरामीहरूका लागि ठुलो राहतको सङ्केत गरेको छ ।

मन्त्रालयले जारी गरेको नयाँ व्यवस्था अनुसार अब अस्पतालहरूले आफ्नो कार्यबोझ र उपलब्ध जनशक्तिको आन्तरिक मूल्याङ्कन गरी आइतबारको सेवा प्रवाहलाई व्यवस्थित बनाउनुपर्नेछ । आइतबारको बिदामा खटिने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न मन्त्रालयले ुसट्टा बिदाु को नीति अघि सारेको छ ।

यस अनुसार आइतबार काम गर्ने कर्मचारीले साताको अन्य कुनै एक दिन बिदा पाउनेछन् भने सो सम्भव नभएमा नियमानुसार सट्टा बिदा उपलब्ध गराउने जिम्मेवारी सम्बन्धित अस्पताल प्रशासनलाई सुम्पिएको छ । यो नियम संघीय अस्पतालहरूमा मात्र सीमित नभई प्रादेशिक अस्पतालहरूमा समेत कार्यान्वयन गर्नका लागि सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूसँग आवश्यक समन्वय र पत्राचार समेत भइसकेको छ ।

यस कदमको आवश्यकता औचित्याउँदै मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले स्वास्थ्य सेवाको संवेदनशीलतालाई कुनै पनि बहानामा बिदाको घेराभित्र राख्न नहुने तर्क गर्नुभएको छ । दुई दिने बिदाका कारण बिरामीहरूले लामो समयसम्म उपचारका लागि कुर्नुपर्ने र अस्पतालमा चाप बढ्ने जोखिमलाई न्यूनीकरण गर्न यो विकल्प रोजिएको मन्त्रालयको बुझाइ छ ।

विशेष गरी दूरदराजबाट उपचारका लागि आउने सर्वसाधारणलाई आइतबार अस्पताल बन्द हुँदा पर्ने आर्थिक र शारीरिक भारलाई कम गर्नु नै यस निर्णयको मुख्य लक्ष्य रहेको छ । साताको ६ दिन नै ओपिडी सेवा सुचारु हुने यो नयाँ व्यवस्थाप्रति आम नागरिकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।


सम्बन्धित समाचार