Logo

२७ चैत,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार बारा एकता बोर्डिङ स्कूल, सिमराले उत्कृष्ट प्रदर्शन गर्दै उपमहानगरभरि पहिलो स्थान हासिल गरेको छ।

उक्त विद्यालयबाट परीक्षामा सहभागी ३१ विद्यार्थीमध्ये ३० जना उत्तीर्ण भएका छन्, जसले कुल ९६.८ प्रतिशत नतिजा ल्याएको छ। विद्यालयका प्रिन्सिपल मदन रिजालका अनुसार उत्तीर्णमध्ये ९ जनाले ए प्लस, १७ जनाले ए र ४ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन्।

उच्च नतिजा ल्याउने अन्य विद्यालयहरूमा सेन्ट अल्फान्स स्कूल औराहा (९३%), राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन डुमरवाना (९२%), साना किसान शिक्षा सदन (९१.३%), अक्षरा पाठशाला (८८.६%), ब्राइटर एकेडेमी सिमरा (८७.२%) र सफल होराइजन बोर्डिङ स्कूल (८६.७%) रहेका छन्।

यद्यपि, सबै संस्थागत विद्यालयहरूको प्रदर्शन सन्तोषजनक देखिएको छैन। लोटस एकेडेमी सिमराले अत्यन्त कमजोर नतिजा ल्याउँदै ५३ मध्ये १९ विद्यार्थी मात्र उत्तीर्ण गराएको छ, जसले जम्मा ३५.८ प्रतिशत नतिजा दिएको छ। यो निजी विद्यालयहरूमध्ये सबैभन्दा कमजोर प्रदर्शन मानिएको छ।

सामुदायिक विद्यालयहरूको अवस्था अझै चिन्ताजनक देखिएको छ। उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार २९ मध्ये २५ विद्यालयको नतिजा अत्यन्त कमजोर रहेको छ भने चार विद्यालयको नतिजा शून्य रहेको छ। थानी आधारभूत विद्यालय बिरेदमार, आदर्श आधारभूत विद्यालय नहरक्याम्प, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र नेपाल राष्ट्रिय मौवादेवी माध्यमिक विद्यालयका सबै विद्यार्थी ग्रेड प्राप्त गर्न असफल भएका छन्।

त्यस्तै, ११ वटा विद्यालयले १० प्रतिशत नतिजा समेत कटाउन सकेका छैनन् भने चार विद्यालयको नतिजा १० देखि १६ प्रतिशतबीच सीमित रहेको छ। कुल २५ विद्यालयले ५० प्रतिशत नतिजा पार गर्न सकेनन् भने चार विद्यालयले मात्र ५० प्रतिशतभन्दा बढी नतिजा हासिल गरेका छन्।

कम नतिजा ल्याउने विद्यालयहरूमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुर (२.६%), नेपाल राष्ट्रिय आधारभूत विद्यालय चकरी (३%), नेपाल राष्ट्रिय आधारभूत विद्यालय कञ्चनपुर (४%), नेपाल राष्ट्रिय माध्यमिक विद्यालय टांगियाबस्ती (४.९%), जनता माध्यमिक विद्यालय रजघट्टा (६.३%), नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया (७.४%) र नेपाल राष्ट्रिय आधारभूत विद्यालय नगौल (९.५%) रहेका छन्।

ठूलो संख्यामा विद्यार्थी सहभागी भएका विद्यालयहरूको नतिजा पनि सन्तोषजनक देखिएन। १२८ विद्यार्थी रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको नतिजा ३२ प्रतिशत, ९५ विद्यार्थी रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको २३.२ प्रतिशत र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाको २२.१ प्रतिशत नतिजा आएको छ।

नतिजाअनुसार सामुदायिक विद्यालयका ८४५ विद्यार्थी ग्रेड प्राप्त गर्न असफल भएका छन्। तीमध्ये ३९५ जनाले मात्र ग्रेड सुधारका लागि पुनः परीक्षा दिन पाउनेछन् भने ४५० विद्यार्थीले उक्त अवसर पाउने छैनन्। शिक्षा शाखाका अधिकृत हरिश भट्टका अनुसार दुई विषयसम्म ग्रेड प्राप्त नगरेका विद्यार्थीले मात्र पुनः परीक्षा दिन पाउने व्यवस्था रहेको छ। दुईभन्दा बढी विषयमा असफल भएका ४५० विद्यार्थी पुनः कक्षा ८ मा भर्ना हुनुपर्नेछ।

यो नतिजाले उपमहानगरभित्रको शैक्षिक गुणस्तरमा ठूलो असमानता रहेको स्पष्ट पारेको छ र सुधारका लागि सरोकारवालाको ध्यानाकर्षण गराएको छ।


सम्बन्धित समाचार