Logo

 २७ चैत,काठमाडौं ।सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै स्वास्थ्य सेवामा असर नपरोस् भनेर आइतबारसमेत अस्पतालका बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आइतबारको बिदाका कारण बिरामीहरूलाई सेवा लिन समस्या नहोस् भन्ने उद्देश्यले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई ओपीडी सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम अब शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू भएको छ। सोही सन्दर्भमा मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाउन नयाँ व्यवस्था अघि सारेको जनाएको छ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र उपलब्ध जनशक्तिको अवस्था मूल्याङ्कन गरी आइतबार ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ। साथै, आइतबार काम गर्ने स्वास्थ्यकर्मीलाई सातामा शनिबारबाहेक अर्को एक दिन बिदा दिइने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

विज्ञप्तिमा “विशेष परिस्थितिमा बिदा दिन नसकिने भए सट्टा बिदाको व्यवस्था गर्नुपर्ने” उल्लेख गरिएको छ। यसैगरी, प्रादेशिक अस्पतालहरूमा पनि यही व्यवस्था लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्न आग्रह गरिएको छ।


सम्बन्धित समाचार