२७ चैत,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जका तीन क्यासिनोमा बिहीबार मध्यरातमा आकस्मिक छड्के अनुगमन गरेको छ। गैरकानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचनापछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वीर्ताको संयुक्त टोलीले अनुगमन गरेको हो।
प्रहरी टोलीले होटल दियालो लर्डसमा सञ्चालित किङ क्यासिनो, होटल सुरजमा रहेको सुरज क्यासिनो र होटल सरोबरमा सञ्चालित मोहजोंग क्यासिनोमा छापा मारेको थियो। सादा पोशाकमा खटिएको टोलीले क्यासिनोभित्रको गतिविधि नजिकबाट निरीक्षण गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार अनुगमनका क्रममा कुनै पनि नेपाली नागरिक क्यासिनोभित्र फेला परेनन्। “नेपाली नागरिक प्रवेश गराइएको भन्ने सूचनाका आधारमा अनुगमन गरेका हौं, तर जाँचका क्रममा त्यस्तो पुष्टि भएन,” उनले बताए।
प्रहरीले क्यासिनोहरूमा हुने गतिविधिमाथि निगरानी निरन्तर जारी रहने जनाएको छ।

















