Logo

२७ चैत,वीरगञ्ज ।  पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वामा महिला सामुदायिक भवन निर्माण कार्य सुरु गरिएको छ। शुक्रबार वडाध्यक्ष विपिन मुखियाले एक कार्यक्रमबीच पूजा–पाठ गरी भवनको शिलान्यास गरेका हुन्।

चालू आर्थिक वर्षका लागि वडा कार्यालयले विनियोजन गरेको ५ लाख रुपैयाँ बजेटबाट निर्माण हुन लागेको उक्त भवन महिलाहरूको विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मुखियाले वडाका महिलाहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै भवन निर्माण सुरु गरिएको बताए। “महिलाहरूले बैंक मिटिङ, सभा–समारोह, सीपमूलक तालिम तथा अन्य गतिविधि सञ्चालन गर्न आफ्नै सुरक्षित स्थानको अभाव झेल्दै आएका थिए,” उनले भने, “स्थानीय आमा–दिदीबहिनीहरूको भावना र आवश्यकतालाई सम्मान गर्दै यो योजना अघि बढाइएको हो।”

उनले विकास केवल भौतिक संरचनामा सीमित नभई जनताको जीवनस्तरमा सुधार ल्याउने माध्यम हुनुपर्नेमा जोड दिए। साथै, जनताबाट आएका सामूहिक मागहरू पूरा गर्न आफू सधैं प्रतिबद्ध रहने उनले बताए।

महिला सामुदायिक भवन निर्माण सुरु भएपछि स्थानीय महिलाहरू उत्साहित भएका छन्। स्थानीय बासिन्दा आशा देवीले भवन निर्माणले भेला, तालिम र सामाजिक कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिन्।

शिलान्यास कार्यक्रममा वडा सदस्य मदन मिश्र, स्थानीय नेता पारस साह, किसनावती देवी, आशा देवी, सम्भु महतो थारु, बैजनाथ महतो थारु, अर्बिन्द मिश्रा, राधा यादव, रोशन चौधरी लगायत स्थानीयको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार