२९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ ।
महामन्त्री धवलशमशेर राणा पक्षधर नेताहरूको आइतबार कान्तिपथमा बसेको बैठकले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको कार्यसमिति भङ्ग गर्नुपर्ने माग राख्दै पार्टीमा नयाँ ध्रुवीकरणको सङ्केत दिएको हो ।
असन्तुष्ट पक्षले वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल समाप्त भइसकेको र पार्टी अतिरिक्त समयमा चलिरहेको भन्दै तत्काल निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न नेतृत्वसँग माग गरेको छ । बैठकले एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा नगरे पार्टी थप संकटमा फस्ने चेतावनी समेत दिएको छ ।
पार्टी ‘सच्चिने कि सकिने’ गम्भीर मोडमा पुगेको विश्लेषण गर्दै राणा पक्षले हालै सम्पन्न निर्वाचनमा व्यहोर्नुपरेको पराजयको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्नेमा जोड दिएको छ ।
अध्यक्ष लिङ्देनले निर्वाचनपूर्व पार्टीलाई पहिलो शक्ति बनाउने र अकल्पनीय नतिजा ल्याउने दाबी गरे पनि परिणाम नकारात्मक आएको भन्दै बैठकले नेतृत्वको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । शर्मनाक पराजयको समीक्षा नगरिएको र कार्यकर्ताहरूमा व्यापक निराशा छाएका कारण पार्टी परित्याग गर्ने क्रम बढेको प्रति असन्तुष्ट पक्षले चिन्ता व्यक्त गरेको छ । नेतृत्वले विधि र पद्धति मिचेर एकलौटी निर्णय गरेको उनीहरूको मुख्य आरोप छ ।
विशेषगरी उपसभामुख पदमा उम्मेदवारी दिने पार्टीको निर्णयलाई लिएर असन्तुष्ट पक्ष निकै आक्रामक देखिएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा छलफल नै नगरी लिइएको उक्त निर्णयले राप्रपाको निष्ठा र सैद्धान्तिक आधारमाथि नै प्रश्न उठाएको उनीहरूको ठहर छ ।
निर्वाचनको चोटमा मल्हम लगाउनुको साटो उपसभामुखको उम्मेदवारीले कार्यकर्ताको भावनामा ुनुनचूकु दल्ने काम गरेको टिप्पणी बैठकले गरेको छ । प्रजातान्त्रिक अनुशासन र जिम्मेवारीबाट नेतृत्व पूर्ण रूपमा चुकेको निष्कर्ष निकाल्दै संस्थापन इतर पक्षले अब ताजा जनादेशका लागि महाधिवेशनमा जानुको विकल्प नरहेको स्पष्ट पारेको छ ।

















