२९ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–पानीट्यांकीस्थित डायमण्ड पार्टी प्यालेसमा कञ्चनजंघा स्कुलद्वारा आयोजित एस.ई.ई. ब्याच–२०८२ का विद्यार्थीहरूको भव्य विदाइ कार्यक्रम ‘ग्राण्ड एडीउ – फेयरवेल प्रोग्राम’ आइतबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाइ गरेका थिए। समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य हरि पन्तले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै शिक्षा नै जीवन परिवर्तनको मुख्य आधार भएको उल्लेख गरे। उनले अनुशासन, मेहनत र लक्ष्यप्रति समर्पणका साथ अघि बढ्न प्रेरित गर्दै विदाइलाई नयाँ यात्राको सुरुवातका रूपमा लिन आग्रह गरे।
कार्यक्रम कञ्चनजंघा स्कुलका प्रधानाध्यापक बसन्त बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष बुढाथोकीले विद्यालयले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा निरन्तर साथ दिने प्रतिबद्धता जनाउँदै कक्षा १० का विद्यार्थीहरूको सफलताको कामना गरे।
कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईं, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, विद्यालयका निर्देशक मार्टिन मोक्तान, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, विजय बल लगायत विशिष्ट व्यक्तित्वहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विदाइ समारोहका अवसरमा विद्यार्थीहरूले आकर्षक र्याम्प वाक, गीत–संगीत, नृत्य तथा नाटक प्रस्तुत गरी दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका थिए। विविध सांस्कृतिक कार्यक्रमहरूले समारोहलाई जीवन्त र स्मरणीय बनाएको थियो।
कार्यक्रमको अन्त्यमा कक्षा १० का विद्यार्थीहरूले विद्यालयमा बिताएका मधुर सम्झनाहरू साटासाट गर्दै भावुक बनेका थिए। उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै कार्यक्रम आपसी सद्भाव, सम्मान र सम्झनालाई अझ सुदृढ बनाउँदै सम्पन्न भएको आयोजकले जनाएको छ।

















