१ बैशाख, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विगतभन्दा निकै छिटो सार्वजनिक गर्नेगरी युद्धस्तरमा काम अघि बढाएको छ ।
सरकारको एक महिनाभित्रै नतिजा निकाल्ने लक्ष्यलाई पछ्याउँदै बोर्डले आगामी २९ वैशाखभित्रै विद्यार्थीहरूको हातमा नतिजा पुर्याउने तयारी गरेको हो । परीक्षा सकिएको छोटो अवधिमै नतिजा प्रकाशन गर्ने यो तयारीले लाखौँ विद्यार्थी र अभिभावकको प्रतिक्षालाई सुखद बनाउने देखिएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल विभिन्न जिल्लाबाट प्राप्त भइरहेका मार्कस्लिप र उत्तरपुस्तिकालाई व्यवस्थित गर्ने र कम्प्युटरमा तथ्याङ्क प्रविष्टि (इन्ट्री) गर्ने कार्य भइरहेको छ । यसपटकको परीक्षामा नयाँ प्रयोग गर्दै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले पनि नतिजाको प्रक्रिया छिटो भएको हो । हाल बोर्डमा १७ जना इन्ट्रीका लागि र अन्य १३ जना प्रशासनिक कार्यका लागि गरी ३० जनाको टोली बिदाको दिन समेत नखटिएर काम गरिरहेका छन् ।
गत १९ देखि २९ चैतसम्म सञ्चालन भएको यस वर्षको एसईईमा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक नहुँदा विद्यार्थीमा बढ्ने मानसिक दबाब र शैक्षिक सत्रमा हुने ढिलाइलाई मध्यनजर गर्दै बोर्डले यसपटक त्रुटिरहित र तीव्र गतिको नतिजा प्रकाशनलाई आफ्नो मुख्य कार्यदिशा बनाएको छ । हालसम्म करिब १० वटा जिल्लाको विवरण बोर्डमा आइसकेको छ भने बाँकी जिल्लाका विवरणहरू पनि आउने क्रम जारी छ।




















