२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गम्भीर अनुशासन उल्लंघन गरेको ठहर गर्दै सात दिनभित्र लिखित जवाफ पेस गर्न स्पष्टीकरण सोधेको छ ।
बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्काले पार्टीको विधानविपरीत नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरेको निष्कर्ष निकाल्दै कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । खड्काले आफू पदमै रहेको दाबी गर्दै पदको दुरुपयोग गरेको र यसअघि सचेत गराउँदा समेत पुनः सोही गल्ती दोहोर्याएको समितिको भनाइ छ ।
समितिका अनुसार खड्काले गत चैत १४ गते पनि यस्तै प्रकृतिको कार्य गरेका थिए, जसका कारण उनलाई चैत १८ गते एक पटकका लागि सचेत गराइएको थियो ।
तर, चेतावनीलाई बेवास्ता गर्दै उनले पुनः चैत ३० गते नक्कली लेटरप्याडमार्फत प्रेस विज्ञप्ति जारी गरेपछि समितिले यसलाई विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिमको गम्भीर उल्लंघन मानेको छ । अब उनले सात दिनभित्र दिने जवाफको आधारमा समितिले थप कदम चाल्ने देखिएको छ।
यसैबीच, कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा भएका अनुशासन उल्लंघनका उजुरी दिने समयसीमा पनि थप गरेको छ । यसअघि चैत मसान्तसम्मको म्याद रहेकोमा त्यसलाई बढाएर २०८३ वैशाख मसान्त सम्म पुर्याइएको छ ।
निर्वाचनमा अन्तर्घात गर्ने र पार्टीको मर्यादाविपरीत चल्ने कार्यकर्ताहरूमाथि छानबिन गर्न अनुशासन समिति अहिले निक्कै सक्रिय बनेको छ ।




















