Logo

१ बैशाख, काठमाडौं । गण्डकी प्रदेशको राजनीतिमा एकाएक नयाँ मोड आएको छ ।

बागलुङबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले बुधबार आफ्नो पदबाट अप्रत्याशित रूपमा राजीनामा दिएका छन् । उनले सभामुख कृष्णप्रसाद धितालसमक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनको क्रममा आफूलाई पाखा लगाइएको र आफ्नै जिल्लाका पार्टी सभापति जित शेरचनलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएपछि असन्तुष्ट बनेका कुँवरले यो कडा कदम चालेको बुझिएको छ ।

पार्टीभित्र महामन्त्री गगन थापा निकट मानिने कुँवरले राजीनामा पत्रमा भने राजीनामाको स्पष्ट कारण खुलाएका छैनन्। उनले आफूलाई निर्वाचित गर्ने मतदाताप्रति कृतज्ञता मात्र प्रकट गरेका छन् । राजीनामा पछि उनी सम्पर्कविहीन बनेका छन् भने उनको मोबाइल फोन समेत उठ्न छाडेको छ ।

मन्त्री बन्ने तीव्र चाहना राखेका कुँवरको यो निर्णयले कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र शक्ति सन्तुलनमा कस्तो असर पर्ने हो भन्ने विषयले चर्चा पाएको छ ।

यता, सभामुख धितालले भने कुँवरको राजीनामा तत्काल स्वीकृत गर्न हतार नगर्ने संकेत दिएका छन् । उनले दलका अन्य नेताहरूसँग आवश्यक परामर्श गरेर मात्र निर्णय लिने बताएका छन् ।

सभामुखले मलाई हतार छैन भन्दै सहमतिको प्रयास हुन सक्ने ढोका खुल्ला राखे पनि कुँवरको राजीनामाले गण्डकी प्रदेश सरकार र विशेषगरी नेपाली कांग्रेसभित्रको असन्तुष्टि भने सतहमा ल्याइदिएको छ ।


सम्बन्धित समाचार