Logo

१ बैशाख, काठमाडौं ।  सुन्दर भविष्यको खोजीमा जोखिमपूर्ण समुद्री मार्ग रोज्दा एउटा भयावह दुर्घटना निम्तिएको छ ।

मलेसिया जाने उद्देश्यले बङ्गलादेशको कोक्स बजारबाट प्रस्थान गरेका रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिक सवार डुङ्गा अन्डमान सागरमा डुब्दा कम्तीमा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले मङ्गलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै यो त्रासदीपूर्ण घटनाको पुष्टि गरेका हुन् ।

प्रारम्भिक विवरणअनुसार क्षमताभन्दा बढी यात्रु, तीव्र हावाहुरी र समुद्रको उग्र छालका कारण सन्तुलन गुमाउँदा डुङ्गा पल्टिएको अनुमान गरिएको छ । बेपत्ता भएकाहरूको अवस्था अझै अज्ञात रहेकाले मृत्यु हुनेको सङ्ख्या ठूलो हुन सक्ने आशङ्का गरिएको छ । यो घटनाले असुरक्षित समुद्री यात्राको बढ्दो जोखिम र मानव तस्करहरूको सक्रियतालाई पुनः एकपटक सतहमा ल्याइदिएको छ ।

पहिचान र सुरक्षाको खोजीमा रहेका रोहिङ्ग्याहरूका लागि बङ्गलादेशका शरणार्थी शिविरहरूको कष्टकर जीवन, शिक्षा र रोजगारीको अभाव नै यस्तो घातक यात्रा रोज्ने मुख्य कारण बनेको देखिन्छ ।
म्यान्माबाट विस्थापित भएर बङ्गलादेशमा आश्रय लिइरहेका १० लाखभन्दा बढी शरणार्थीहरूमध्ये धेरैजसो राम्रो अवसरको लोभमा ज्यानकै बाजी थापेर समुद्रमा हेलिने गरेका छन् । यो पछिल्लो दुर्घटनाले अन्तर्राष्ट्रिय समुदायलाई मानवीय सङ्कट समाधानका लागि गम्भीर हुन पुनः सचेत गराएको छ ।


सम्बन्धित समाचार