२ वैशाख,वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ स्थित पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल दुधेश्वरनाथ महादेव मन्दिर (रामभौरी भाठा धाम) मा नयाँ वर्ष २०८३ को सुरुवातसँगै भव्य मेला सुरु भएको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार वैशाख १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालुहरूको आगमन भइरहेको छ।
भाठा धाममा वर्षमा तीन पटक—वैशाख त्रयोदशी, माघको श्रीपञ्चमी र साउन महिनाभर—विशेष मेला लाग्ने परम्परा रहँदै आएको छ। मेलाको अवसरमा भाकल पूरा भएका भक्तजनहरूले मन्दिर परिसरका विभिन्न स्थानमा अष्टजाम तथा भजनकीर्तन गरिरहेका छन्, जसले सम्पूर्ण क्षेत्रलाई भक्तिमय बनाएको छ।
रंगपुर टाँडी बजारबाट करिब १४ किलोमिटर जङ्गल मार्ग र कच्ची सडक पार गर्दै पुगिने यस मन्दिरसम्मको यात्रा भक्तजनका लागि रोमाञ्चक मानिन्छ। पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यात्राको क्रममा हरिण, बँदेल, मयुर, हात्ती, बाँदर, निलगाई लगायतका वन्यजन्तु तथा विभिन्न चराचुरुङ्गीहरूको अवलोकन पनि गर्न सकिन्छ।
स्थानीयहरूको भनाइअनुसार करिब १०० वर्ष पुरानो इतिहास बोकेको यस मन्दिरको सुरुवात एउटा सानो खरको झुपडीबाट भएको थियो। ढुङ्गालाई दुधेश्वरनाथ महादेव मानेर पूजा सुरु भएपछि यस क्षेत्रको धार्मिक महत्व विस्तार भएको बताइन्छ।
हाल मन्दिर परिसरमा शिव–पार्वतीको पक्की मन्दिर, धर्मशाला, खानेपानी तथा अस्थायी शौचालयको व्यवस्था गरिएको छ। गौत्री भलुवाई नदीमा स्नान गरी करिब डेढ किलोमिटर पैदल यात्रा र ३०० भन्दा बढी सिँढी चढेपछि मन्दिर पुगिन्छ।
नेपाली सेनाका अनुसार मेलाको पहिलो दिन मंगलबार मात्रै करिब ८०० मोटरसाइकल, ८० ट्याक्टर, १०० ट्याक्सी/अटो तथा १०० स्कार्पियोसहित करिब १० हजारभन्दा बढी भक्तजन मन्दिर क्षेत्रमा पुगेका छन्।
भारतको रक्सौल, बेतिया, मैनाटार, अरेराज तथा नेपालका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र चितवनबाट श्रद्धालुहरूको ठूलो भीड लागेको छ।
मेला समिति सदस्य शम्भु यादवले भक्तजनहरूको व्यवस्थापनका लागि प्रयास भइरहेको बताउँदै धार्मिक आस्थाले सबैलाई उत्साहित बनाएको उल्लेख गरे। उनले भाठा धामको थप विकासका लागि निरन्तर पहल आवश्यक रहेको बताए।
स्थानीय सञ्चारकर्मी चिरञ्जीवी यादवले वर्षमा तीन पटक मात्र मेला सञ्चालन गरेर भाठा धामको पूर्ण विकास सम्भव नहुने भन्दै बाह्रै महिना धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरे।


















