Logo

७ वैशाख, चितवन । चितवनको माडी नगरपालिका वडा नं. ७ मा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल दक्षिण सोमेश्वर कालिका तथा शनि धाम परिसरमा नि:शुल्क वाईफाई सेवा सञ्चालनमा आएको छ । टेकमाइण्ड्स नेटवर्क प्रा.लि.ले यस क्षेत्रलाई औपचारिक रूपमा ‘फ्रि वाईफाई जोन’ घोषणा गरेसँगै आइतबारदेखि यो सुविधा सुरु भएको हो ।

धार्मिक स्थललाई आधुनिक प्रविधिसँग जोडेर यसको ऐतिहासिक र पुरातात्विक महत्वलाई व्यापक बनाउने उद्देश्यले इन्टरनेट सेवा विस्तार गरिएको हो । अब धाममा आउने भक्तजन तथा पर्यटकहरूले सामाजिक सञ्जालको प्रयोग, लाइभ प्रसारण तथा अन्य सञ्चारका लागि नि:शुल्क इन्टरनेटको लाभ लिन पाउनेछन् ।

सेवा शुभारम्भ गर्दै दक्षिण सोमेश्वर कालिका धार्मिक समितिका अध्यक्ष सुदर्शन सुवेदीले इन्टरनेटको पहुँचले धार्मिक गतिविधिको प्रचार-प्रसारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । “यहाँ आउने भक्तजनलाई सञ्चारमा सहज होस् र यस क्षेत्रको महिमा देश-विदेशमा पुगोस् भन्ने हाम्रो चाहना हो,” उनले भने ।

त्यसैगरी, टेकमाइण्ड्स नेटवर्कका अध्यक्ष सुदर्शन चापागाईंले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महत्वपूर्ण धार्मिक स्थललाई डिजिटल पहुँचमा ल्याउन पाउँदा खुसी लागेको बताए । प्रविधिको यो विस्तारले माडीको धार्मिक पर्यटनलाई थप व्यवस्थित र आधुनिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार