Logo

७ वैशाख, काठमाडौँ ।  उच्च शिक्षा क्षेत्रमा देखिएका नीतिगत र व्यावहारिक समस्याहरूको पहिचान गरी सुधारको खाका कोर्ने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग वृहत् छलफल गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे तय गरिएको उक्त बैठकमा प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र ७ वटा प्रतिष्ठानका प्रमुखहरूको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकको मुख्य एजेन्डा विश्वविद्यालय र प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र तिनको दिगो समाधान रहेको छ । विशेषगरी, उच्च शिक्षाको गुणस्तर, प्रशासनिक जटिलता र पठनपाठनमा भइरहेका व्यवधानहरूका बारेमा प्रधानमन्त्री शाहले गम्भीर विमर्श गर्ने तयारी गरेका छन् । लामो समयदेखि थलिएका र नीतिगत रूपमा अल्झिएका शैक्षिक मुद्दाहरूलाई कसरी तत्काल सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा बैठकले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनेछन् ।

त्यसैगरी, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नेतृत्वसँग पनि प्रधानमन्त्रीले संवाद गर्ने कार्यक्रम छ । स्वास्थ्य र प्रविधि क्षेत्रको उच्च शिक्षालाई सुदृढ गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल हुनेछ ।

उच्च शिक्षाको गुणस्तर खस्कँदो अवस्थामा रहेको भनी चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहको यो सक्रियतालाई चासोका साथ हेरिएको छ । सरकारले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई अनुसन्धान र नतिजामुखी बनाउन चाहेको संकेत यस संवादले दिएको छ ।


सम्बन्धित समाचार
भर्खरै