७ वैशाख,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्ने विषयमा सरकारलाई आवश्यक दुई तिहाइ बहुमत जुटाउन आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नुपर्ने विषयमा राप्रपाले पहिले नै संसदमा आफ्नो धारणा राखिसकेको बताए। उनले सरकारसँग आवश्यक सिट संख्या पुगेमा संविधान संशोधनका लागि पार्टीले समर्थन गर्ने संकेत गरे।
शाहीले मुलुकमा हिन्दू राज्य स्थापना, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्था र सनातन परम्परासहितको व्यवस्था पुनःस्थापना गर्ने विषयमा पनि आफ्नो पार्टी सकारात्मक रहेको बताए। उनका अनुसार, संविधान संशोधनका लागि आवश्यक परे राप्रपाले थप सिट समेत उपलब्ध गराउन तयार रहेको छ।
उनले भने, “प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने कुरा हामीले संसदमै उठाइसकेका छौं। यदि संविधान संशोधनका लागि सिट पुग्दैन भने हामी सहयोग गर्न तयार छौं।”
सो अवसरमा उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन र फरक मतलाई समेटेर अघि बढ्न पार्टी नेतृत्वलाई आग्रह समेत गरेका थिए।

















