८ वैशाख, भरतपुर । लामो समयसम्म विद्युत् महसुल नतिर्ने ग्राहकविरुद्ध नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले कडा कदम चालेको छ । चालु आर्थिक वर्षमा पटक-पटकको ताकेतापछि पनि महसुल नबुझाउने २७७ जना ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको छ ।
केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार कालोसूचीमा परेका ती ग्राहकबाट मात्रै १ करोड ४ लाख १७ हजार ३८१ रुपैयाँ बक्यौता उठ्न बाँकी छ। प्राधिकरणले कालोसूचीमा राखेर उनीहरूविरुद्ध थप कारबाही प्रक्रिया अघि बढाएको छ ।
बक्यौता असुलीलाई तीव्रता दिने उद्देश्यले प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियानलाई पनि निरन्तरता दिएको छ । सोही क्रममा पछिल्लो ६ महिनायता महसुल नबुझाउने १ हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटिएको विष्टले जानकारी दिए । “हामीले बक्यौता असुलीका लागि नियमित रूपमा कर्मचारी परिचालन गरेर लाइन काट्ने र सेवाग्राहीलाई सचेत गराउने काम गरिरहेका छौँ,” उनले भने ।
भरतपुर वितरण केन्द्रअन्तर्गत हाल ७४ हजार ८७६ जना ग्राहक छन् । यसमध्ये ठूलो संख्याका ग्राहकले समयमा महसुल नतिर्दा प्राधिकरणको समग्र बक्यौता रकम ४९ करोड ४ लाख १० हजार ४३७ रुपैयाँ पुगेको छ ।
विद्युत् सेवाको निरन्तरताका लागि महसुल भुक्तानी अनिवार्य सर्त भए पनि केही उपभोक्ताले अटेर गर्दा असुलीमा चुनौती थपिएको छ । प्राधिकरणले लामो समयदेखि महसुल नबुझाउने ग्राहकलाई यथाशीघ्र बक्यौता तिर्न आग्रह गरेको छ । तोकिएको समयमा महसुल नतिर्नेको लाइन काट्ने र कालोसूचीमा राख्ने प्रक्रियालाई थप कडा बनाउने प्राधिकरणको तयारी छ ।

















