Logo

८ चैत, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ ऐतिहासिक उचाई चुम्दै प्रतितोला ३ लाख रुपैयाँको आँकडा पार गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा एकैदिन प्रतितोला १ हजार ६ सय रुपैयाँको उच्च वृद्धि देखिएको हो । यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा उल्लेख्य बढोत्तरी हो ।

हिजो सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागमा आएको उतारचढावको सीधा प्रभाव नेपाली सुन बजारमा परेको देखिन्छ ।

सुनको मूल्यमा एकाएक डढेलो लाग्दा चाँदीको बजारमा भने आज केही शीतलता महसुस गरिएको छ। पहेँलो धातुको मूल्य आकाशिँदा चाँदीको भाउमा भने सामान्य गिरावट आएको महासंघले जनाएको छ ।

हिजो प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज ३० रुपैयाँले सस्तिएर ५ हजार १ सय ६० रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा महासंघले नेपाली बजारको दरभाउ निर्धारण गर्दै आएको छ, जसका कारण दैनिक जसो मूल्यमा यस्ता उतारचढाव देखिने गरेका छन् ।

सुनको भाउले ३ लाखको मनोवैज्ञानिक सीमा काटेपछि आम उपभोक्ता र लगानीकर्ताहरूमा भने तरङ्ग पैदा भएको छ ।


सम्बन्धित समाचार