Logo

१० वैशाख, काठमाडौँ । राइड शेयरिङ सेवामा खटिने चालकहरूले सेवाग्राहीको अनुमतिविना भिडियो खिच्ने र सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएपछि नेपाल प्रहरीले यसमाथि कडा रोक लगाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गर्दै सेवाग्राहीको गोपनीयतालाई चुनौती दिने गरी भिडियो भ्लग (Vlog) बनाउने चालकहरूलाई यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

पछिल्लो समय राइड शेयरिङ चालकहरूले सवारी साधनभित्रका व्यक्तिगत कुराकानी, दृश्य तथा यात्रुसँगका संवादहरू खिचेर अनुमतिविना नै टिकटक, फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालमा राख्ने क्रम ह्वात्तै बढेको छ । यस्ता भिडियोहरूमा सेवाग्राहीलाई गालीगलौज गर्ने, अश्लील शब्द प्रयोग गर्ने र व्यक्तिगत गोपनीयतामा आँच पुर्‍याउने कार्य भइरहेको भन्दै प्रहरीमा गुनासो बढ्दै गएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, नागरिकको व्यक्तिगत गोपनीयताको हकलाई संविधानले नै सुरक्षित गरेको छ। यस्तो अवस्थामा सेवाग्राहीको मन्जुरीविना गरिने यस्ता क्रियाकलापहरू कानुनतः दण्डनीय हुन्। परिसरले सूचना जारी गर्दै भनेको छ, “सेवाग्राहीको गोपनीयता भंग हुने गरी भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्य तुरुन्त बन्द गर्नुहोस्। यदि यस्ता भिडियोहरू पोष्ट गरिएका छन् भने तत्काल हटाउनुहोला।”

प्रहरीले आगामी दिनमा पनि यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने र कडा कारबाही गर्ने चेतावनी दिएको छ । सेवा प्रदायक र सेवाग्राहीबीचको सम्बन्ध व्यावसायिक हुने र त्यसमा एक-अर्काको मर्यादा तथा गोपनीयताको सम्मान हुनुपर्ने प्रहरीको भनाइ छ ।

प्रहरीले केवल चालकलाई मात्र नभई आम नागरिकलाई पनि आफ्नो गोपनीयताको हकप्रति सचेत रहन आग्रह गरेको छ । सवारी साधनमा यात्रा गर्दा कसैले अनुमतिविना भिडियो खिचेको पाइएमा वा त्यस्ता सामग्री सामाजिक सञ्जालमा देखाइएमा तत्काल प्रहरीलाई खबर गर्न वा उजुरी गर्न पनि आग्रह गरिएको छ ।

राइड शेयरिङ सेवा प्रयोग गर्ने बढ्दो क्रमसँगै देखिएको यो ‘भ्लगिङ संस्कृति’ले व्यक्तिगत सुरक्षा र स्वतन्त्रतामाथि नै प्रश्न उठाएपछि प्रहरीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो कदम चालेको हो। यस निर्देशनले राइड शेयरिङ सेवामा देखिएको विकृतिलाई केही हदसम्म नियन्त्रण गर्ने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार