Logo

१० वैशाख,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय ले जाँचमा कडाइ गरेसँगै भारतीय नम्बर प्लेट नभएका इलेक्ट्रिक (इभी) मोटरसाइकलहरू धमाधम नियन्त्रणमा लिन थालेको छ। पछिल्लो कारबाहीमा करिब २२ वटा भारतीय इभी मोटरसाइकल पक्राउ परेका छन्।

भन्सार कार्यालयमा खटिएको सशस्त्र प्रहरी बल नेपाल का डिएसपी बिकाश अधिकारी का अनुसार आवश्यक कागजात तथा भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको हो।

भन्सार स्रोतका अनुसार अवैध रूपमा प्रयोग भइरहेका भारतीय इभी मोटरसाइकलबारे सूचना प्राप्त भएपछि निगरानी र जाँच प्रक्रिया थप कडा बनाइएको हो। वीरगञ्जका विभिन्न साना नाकाबाट समेत यस्ता सवारी साधन पक्राउ पर्ने क्रम जारी रहेको जनाइएको छ।

पछिल्लो समय सस्तो र सहज रूपमा उपलब्ध हुने कारण केही व्यक्तिहरूले भारतीय इभी मोटरसाइकल अवैध रूपमा नेपाल भित्र्याएर प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको अनुमान गरिएको छ।

भन्सार तथा सुरक्षा निकायले आवश्यक कागजातबिना सञ्चालन गरिएका सवारी साधनमाथि निरन्तर कारबाही गरिने स्पष्ट पारेका छन्। साथै, वीरगञ्ज क्षेत्रमा अवैध सवारी प्रयोग गर्नेहरूबीच सतर्कता बढेको छ भने सम्बन्धित निकायले यस्तो गतिविधि नियन्त्रणका लागि थप अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।


सम्बन्धित समाचार