Logo

११ वैशाख,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरमा आर्थिक रूपमा कमजोर एक परिवारलाई छोरीको विवाहका लागि कानु युथ वीरगन्जले खाद्यान्न सहयोग गरेको छ।

संस्थाले वैशाख १२ गते हिन्दु परम्परा अनुसार हुने विवाहलाई लक्षित गर्दै करिब २५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको हो। सहयोगअन्तर्गत चामल २ बोरा, मसुरो २० किलो, चिनी २० किलो, आलु १ बोरा, प्याज २० किलो, रिफाइन तेल १ जार, खानेतेल १ टिन, मैदा २० किलो, बेसन १० किलो, ग्यास २ सिलिन्डर तथा हरियो तरकारी लगायतका सामग्री हस्तान्तरण गरिएको छ।

कानु युथ वीरगन्जले समाजमा रहेका विपन्न तथा असहाय परिवारलाई सहयोग गर्ने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको जनाएको छ। संस्थाका सचिव श्रवण साहले यस्ता सहयोगले समाजमा सकारात्मक सन्देश फैलिने विश्वास व्यक्त गरे।

सहयोग वितरण कार्यक्रममा संस्थाका अध्यक्ष मनोज साह, सदस्य देवेन्द्र साह कानु, कानु समाज बाराका रमेश साह कानु, अजय साह लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार