Logo

१२ वैशाख, काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउने क्रममा स्काभेटरले खानेपानीको मुख्य पाइप फुटाएपछि उपत्यकाका ठुला क्षेत्रहरूमा खानेपानी आपूर्ति बन्द भएको छ। पाइप फुटेका कारण बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी वितरण अवरुद्ध भएको हो।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार फुटेको पाइप मर्मत गर्नका लागि विभिन्न स्थानका भल्भहरू बन्द गर्नुपर्ने भएकाले वितरणमा समस्या आएको हो। केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले पाइप मर्मतका लागि बालाजु, माइतीघर र एकान्तकुनाका वितरण केन्द्रहरूमा भल्भ बन्द गर्न लागिएको जानकारी दिनुभयो। मर्मतका लागि वितरण केही समय अवरुद्ध हुनेछ,उहाँले भन्नुभयो।

पाइपमा भएको क्षतिको यकिन विवरण र मर्मतका लागि लाग्ने समयबारे अहिले नै भन्न नसकिने लिमिटेडले जनाएको छ। प्राविधिक टोली कार्यक्षेत्रमा पुगिसकेको र क्षतिको मूल्याङ्कन गरेपछि मात्र मर्मत अवधि थाहा हुने प्रवक्ता राईको भनाइ छ।

शनिबार बिहान सुकुम्वासी बस्तीका टहरा भत्काउने क्रममा एक्कासि पाइप फुटेपछि बस्ती क्षेत्रमा पानीको भेल बगेको थियो। यसले गर्दा सुकुम्वासीहरूले टहराबाट निकालेर बाहिर राखेका खाद्यान्न, लत्ताकपडा र अन्य घरायसी सामानहरू भिजेर क्षति पुगेको छ। बस्ती हटाउने कार्य भइरहँदा फुटेको पाइपबाट निस्किएको पानीले स्थानान्तरणमा खटिएका सुरक्षाकर्मी र स्थानीय दुवैलाई सास्ती दिएको छ।


सम्बन्धित समाचार