Logo

१२ वैशाख,काठमाडौं ।  अमेरिका र इरानबीच लामो समयदेखि जारी द्वन्द्व समाधानका लागि पाकिस्तानको मध्यस्थतामा फेरि शान्ति वार्ता हुने तयारी गरिएको छ। दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिहरू पाकिस्तान पुगिसकेपछि वार्ताको वातावरण बनेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जेरेड कुश्नर शनिबार बिहान पाकिस्तान प्रस्थान गरेको ह्वाइट हाउसले जनाएको छ। प्रारम्भिक चरणको वार्तामा सहभागी हुन उनीहरू इस्लामावाद पुग्ने तयारीमा छन्।

यता, इरानका विदेशमन्त्री अब्बास अराघचीसहितको टोली शुक्रबार नै इस्लामावाद पुगिसकेको छ। करिब दुई महिनादेखि जारी तनाव र विशेषगरी स्ट्रेट अफ हर्मुज क्षेत्रमा उत्पन्न अवरोधलाई समाधान गर्ने विषय वार्ताको मुख्य एजेन्डा हुने बताइएको छ।

प्रारम्भिक छलफल सकारात्मक दिशामा अघि बढेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्तामा सहभागी हुन पाकिस्तान जाने सम्भावना रहेको बताइएको छ।

अमेरिकी पक्षले इरानले वार्तामा चासो देखाएपछि संवाद अघि बढाइएको दाबी गरेको छ। त्यस्तै, अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानलाई सम्झौताका लागि अवसर रहेको उल्लेख गर्दै परमाणु हतियार कार्यक्रमबारे स्पष्ट प्रमाण दिनुपर्ने शर्त राखेका छन्।

गत फेब्रुअरी २८ देखि जारी भनिएको अमेरिका–इजरायल र इरानबीचको तनावका कारण विश्व बजारमा तेलको मूल्य वृद्धि भएको छ। विशेषगरी स्ट्रेट अफ हर्मुजमा ढुवानी अवरोधले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा असर परेको बताइएको छ।

यदि वार्ता सफल भएमा मध्यपूर्वमा लामो समयदेखि जारी तनाव अन्त्य हुने र विश्व ऊर्जा बजारमा स्थिरता आउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार