१२ वैशाख,काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना युवक पक्राउ परेका छन्। प्रहरीले शनिबार देशका अलग–अलग जिल्लामा सञ्चालन गरेको अभियानका क्रममा ट्रामाडोल, ब्राउनसुगर, चरेस र गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
काठमाडौँको जडीबुटीस्थित मनहरा नदी किनार नजिकबाट दोलखाको मेलुङ गाउँपालिका–४ का १८ वर्षीय युवकलाई ट्रामाडोल १३० ट्याब्लेट र नगद ६८ हजार २०० रुपैयाँसहित पक्राउ गरिएको छ। उनी हाल काठमाडौँमै बसोबास गर्दै आएका थिए।
त्यस्तै, कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर १२ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३२० मिलिग्रामसहित १९ वर्षीय विशाल कुँवरलाई पक्राउ गरिएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट जाजरकोटका १८ वर्षीय किशोरलाई चरेस जस्तो देखिने पदार्थ ७३८ ग्रामसहित नियन्त्रणमा लिइएको छ। सोही नगरपालिका–४ भैरवस्थानबाट विपिन शाहीलाई चरेस जस्तो देखिने पदार्थ ५१० मिलिग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ सातबासबाट कृष्ण विकलाई करिब १८ किलो २५५ ग्राम गाँजा जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। घर तलासीका क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट ३४ वर्षीय मोहम्मद साविर मिया ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १६० मिलिग्राम र नगद ११ हजार ८२० रुपैयाँसहित पक्राउ परेका छन्।
यस्तै, दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५० मिलिग्रामसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पा नगरपालिका–२ खलीबाङका २० वर्षीय भास्कर कुँवर र २३ वर्षीय भरत डाँगी रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

















