Logo

१३ वैशाख, काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त नेतृत्व पूर्ति गर्न सरकारले औपचारिक प्रक्रिया अगाडि बढाएको छ ।

पूर्वअध्यक्ष शरद ओझाको नियुक्तिलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त रहेको उक्त पदमा नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्ले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टको नेतृत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यहरूमा अर्थसचिव डा. घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. फत्तबहादुर केसी रहेका छन् । लामो समयदेखि नेतृत्वविहीन भएर कार्यवाहकको भरमा चल्दै आएको प्राधिकरणलाई पूर्णकालीन नेतृत्व दिने उद्देश्यले सरकारले यो कदम चालेको हो ।

हाल अर्थ मन्त्रालयका सहसचिवले कार्यवाहकका रूपमा प्राधिकरणको प्रशासनिक तथा प्राविधिक काम सम्हाल्दै आएका छन् । अब गठन भएको सिफारिस समितिले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूमध्येबाट उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेका ती तीन नाममध्येबाट एक जनालाई सरकारले आगामी चार वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ ।

नियामक निकायका रूपमा रहेको बीमा प्राधिकरणमा स्थायी नेतृत्व आएसँगै बीमा क्षेत्रमा रहेका नीतिगत अन्योलता हट्ने र बजार थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । समितिले छिट्टै कार्यविधि बनाएर अध्यक्ष चयनका लागि दरखास्त आह्वान गर्ने तयारी समेत गरेको छ ।


सम्बन्धित समाचार