१३ बैशाख, काठमाडौं । नेपालमा अवैध घोषित डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को कारोबारविरुद्ध नेपाल प्रहरीले आफ्नो सक्रियतालाई निकै आक्रामक बनाएको छ ।
पछिल्लो एक महिनाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएका पाँच ठूला ‘अपरेसन’ का क्रममा प्रहरीले तीन विदेशीसहित ११ जनालाई पक्राउ गर्न सफल भएको छ । चैत महिनाभर चलाइएको यस विशेष अभियानले उपत्यकामा लुकीछिपी भइरहेको अर्बौँको अवैध वित्तीय कारोबारको पर्दाफास गरेको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा नेपालसहित छिमेकी मुलुक भारत, चीन र बङ्गलादेशका नागरिक रहेका छन्। पक्राउ परेका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत नेपाली युवाहरूलाई छोटो समयमै अधिक मुनाफा हुने प्रलोभन देखाई ठगी गर्ने र उक्त रकमलाई ‘यूएसडीटी’ लगायतका क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी विदेश पठाउने गरेको खुलेको छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा मात्रै ३५ जनालाई नियन्त्रणमा लिइसकिएको छ, जसबाट झण्डै २ अर्ब १ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार भएको तथ्य फेला परेको छ ।
प्रहरीको अनुसन्धानले यो कारोबार केवल डिजिटल मुद्रामा मात्र सीमित नभई हुण्डी र सम्पत्ति शुद्धीकरणसँग समेत जेलिएको देखाएको छ । चैत २ गते नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई नेपाली पक्राउ परेपछि सुरु भएको यो श्रृङ्खलाबद्ध कारबाही चैत २० गते चिनियाँ नागरिक झुयी फेंगको गिरफ्तारीसम्म पुग्दा थप गम्भीर बनेको छ ।
फेंगले मात्रै १७ करोड ७९ लाख रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । त्यस्तै, चैत ८ गते पक्राउ परेका एक व्यक्तिको संलग्नतामा मात्रै १ अर्ब ३६ करोडको कारोबार भएको पुष्टि हुनुले यो जालो कति गहिरो छ भन्ने स्पष्ट पार्छ ।
पछिल्लो समय अपराधीहरूले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेका बेला नेपाल प्रहरीले पनि आफ्नो अनुसन्धान प्रणालीमा उल्लेख्य सुधार गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रविण धितालका अनुसार अहिले मुख्यालयबाटै एआई उपकरण र अत्याधुनिक प्रविधिको प्रयोग गरी सूक्ष्म अनुसन्धान थालिएको छ ।
यस्ता अवैध कारोबारले देशको अर्थतन्त्रमा गम्भीर असर पुर्याइरहेको भन्दै प्रहरीले आगामी दिनमा निगरानीलाई अझ तीव्र बनाउने र प्रविधिको दुरुपयोग गरी हुने वित्तीय अपराधलाई निर्मूल पार्ने रणनीति अख्तियार गरेको छ ।

















