Logo

१३ बैशाख, काठमाडौं । राजधानीका विभिन्न सुकुमवासी बस्तीहरूमा अतिक्रमण हटाउने अभियानले उग्र रूप लिइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले मनोहरा लगायतका क्षेत्रमा डोजर चलाएर संरचनाहरू भत्काइरहेको र स्थानीयसँग झडप भइरहेको संवेदनशील समयमा प्रधानमन्त्रीले आज दिउँसो ३ बजेका लागि बैठक डाक्नुभएको हो ।

सामान्यतया सार्वजनिक बिदाको दिन मन्त्रिपरिषद्को नियमित बैठक नबस्ने भए पनि आज आइतबार विशेष परिस्थिति उत्पन्न भएपछि मन्त्रीहरूलाई केही बेरअघि मात्रै बैठकको जानकारी दिइएको छ ।

एक मन्त्रीका अनुसार, बैठकमा सुकुमवासी व्यवस्थापनको वर्तमान जटिलता, सुरक्षा निकायको परिचालन र विस्थापितहरूको बसोबासका सम्बन्धमा ठोस निर्णय हुन सक्ने सम्भावना छ । विशेष गरी थापाथली र मनोहरा क्षेत्रमा देखिएको तनावपूर्ण स्थितिलाई कसरी शान्तिपूर्ण निकास दिने भन्ने विषयमा बैठक केन्द्रित हुने बुझिएको छ ।

महानगरले बस्ती खाली गराउने कार्यलाई तीव्रता दिइरहँदा सरकारले विस्थापितहरूलाई नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा सार्ने विकल्पबारे पनि गृहकार्य गरिरहेको चर्चा छ ।

सुकुमवासी बस्ती हटाउने क्रममा कतिपय स्थानमा झडप र सुरक्षाकर्मीसमेत घाइते भएकाले मन्त्रिपरिषद् बैठकले शान्ति सुरक्षा र मानवीय सहायताका विषयमा नयाँ रणनीति अख्तियार गर्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री शाह आफैँले यस विषयमा सक्रियता देखाउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार