१३ बैशाख, काठमाडौैं । संघीय सरकार र काठमाडौँ महानगरपालिकाले नदी किनारका सुकुमबासी बस्तीहरू हटाउने अभियान तीव्र पारेसँगै वास्तविक सुकुमबासी पहिचानका लागि दशरथ रङ्गशालामा सुरु गरिएको दर्ता प्रक्रियामा मानिसहरूको ठुलो भिड लागेको छ ।
शनिबारदेखि सुरु भएको यो प्रक्रियामा सुकुमबासी बस्तीमा घर भत्काइएकाहरू मात्र नभई काठमाडौँका विभिन्न स्थानमा कोठा भाडामा बस्दै आएका र आफू भूमिहीन भएको दाबी गर्ने व्यक्तिहरू पनि नाम टिपाउन पुगेका छन् ।
रङ्गशालामा खटिएका कर्मचारीहरूका अनुसार डोजर चलेको क्षेत्रभन्दा बाहिरबाट समेत ‘कतै पनि घरजग्गा नभएको’ दाबी गर्दै धेरै मानिसहरू नागरिकतासहित नाम दर्ताका लागि आएका हुन् । हाललाई कसैलाई पनि सुकुमबासी होइन भन्न मिल्ने कानुनी आधार नभएकाले कर्मचारीहरूले आएका सबैको प्रारम्भिक विवरण सङ्कलन गरिरहेका छन् ।
अहिले नाम टिपाइए पनि पछि विस्तृत परीक्षण र प्रमाणीकरणका क्रममा मात्र वास्तविक सुकुमबासीको पहिचान हुने सरकारी अधिकारीहरूले बताएका छन् ।
सरकारले वास्तविक सुकुमबासीलाई उचित व्यवस्थापन गर्ने आश्वासन दिएपछि रङ्गशाला पुग्नेहरूको सङ्ख्या अपेक्षाभन्दा निकै बढी देखिएको छ । यसले वास्तविक सुकुमबासी र सुकुमबासीको आवरणमा सुविधा लिन खोज्नेहरूबीचको भिन्नता छुट्टाउन सरकारलाई थप चुनौती खडा गरेको छ ।
आगामी दिनमा हुने सुक्ष्म छानबिनले मात्र कति व्यक्ति वास्तविक भूमिहीन हुन् र कति अन्यत्र घरजग्गा भएर पनि दर्ता प्रक्रियामा सामेल भएका हुन् भन्ने कुराको निर्क्योल गर्नेछ ।

















