Logo

१४ बैशाख, काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीमा सुरक्षा संकट गहिरिँदै जाँदा एक भीषण आत्मघाती ट्रक बम विस्फोटमा परी रक्षामन्त्री सादियो कामाराको मृत्यु भएको छ ।

राजधानी बामाको नजिकै रहेको मन्त्री कामाराकै निजी निवासलाई निसाना बनाएर गरिएको उक्त आत्मघाती आक्रमणले पूरै देशलाई स्तब्ध बनाएको छ । मालीको सरकारी टेलिभिजनका अनुसार विस्फोटमा परी गम्भीर घाइते भएका रक्षामन्त्रीको उपचारका क्रममा केही घण्टापछि मृत्यु भएको हो । यो घटनासँगै मालीको सुरक्षा संयन्त्रमाथि ठूलो प्रश्नचिह्न खडा भएको छ ।

रक्षामन्त्रीको हत्यालगत्तै चरमपन्थी समूहहरूले राष्ट्रपति असिमी गोइताको निवासलाई समेत निसाना बनाउन खोजेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई तत्कालै सुरक्षित स्थानमा सारिएको छ ।

बीबीसीका अनुसार राष्ट्रपतिको सुरक्षा टोलीले थप जोखिम हुन नदिन उच्च सतर्कता अपनाएको छ। यसैबीच, चरमपन्थी संगठन ‘अजावद लिबरेसन फ्रन्ट’ ले किडाल सहर अब आफ्नो पूर्ण नियन्त्रणमा रहेको दाबी गरेको छ । उक्त समूहले मालीको सेनामा कार्यरत रुसी भाडाका सैनिकहरू दुई दिनको भीषण लडाइँपछि पछि हट्न सहमत भएको समेत जनाएको छ ।

हाल मालीका प्रमुख सहरहरूमा चरमपन्थी आक्रमणको शृङ्खला तीव्र बनेको छ, जसले देशमा व्यापक हिंसा र अस्थिरता निम्त्याएको छ । राजधानी बामाको लगायतका क्षेत्रमा सशस्त्र समूहहरूले आफ्ना गतिविधिलाई आक्रामक बनाएपछि सामान्य जनजीवन त्रसित बनेको छ ।

सरकारले शान्ति सुरक्षा कायम गर्न प्रयास गरिरहेको बताए तापनि उच्च तहका अधिकारीहरूकै असुरक्षाले मालीको राजनीतिक र सैन्य भविष्य थप अन्योलपूर्ण मोडमा पुगेको देखिन्छ ।


सम्बन्धित समाचार