Logo

१४ बैशाख, काठमाडौं । भारतको मणिपुरस्थित साङ्गाई इन्टरनेसनल युनिभर्सिटीबाट शैक्षिक उपाधि हासिल गरेका ९८ जना नेपाली विद्यार्थीहरूको प्रमाणपत्र अहिले गम्भीर सुक्ष्म अध्ययनको घेरामा परेको छ ।

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ती विद्यार्थीहरूले प्राप्त गरेका शैक्षिक प्रमाणपत्रहरूको आधिकारिकता र वैधतामाथि प्रश्न उठाउँदै नाम नै सार्वजनिक गरेको हो । केन्द्रले सूचना जारी गरी आफूसँग भएका समकक्षता पत्रको सक्कलप्रति र शैक्षिक उपाधिको वैधता पुष्टि हुने थप आधार–प्रमाणहरू ३५ दिनभित्र लिखित रूपमा पेश गर्न अल्टिमेटम दिएको छ ।

यसअघि सन् २०२४ मा भारतको विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले साङ्गाई इन्टरनेसनल युनिभर्सिटीलाई आफ्नो सूचीबाट हटाउँदै त्यहाँबाट जारी गरिएका शैक्षिक उपाधिहरूलाई उच्च शिक्षा र सरकारी सेवाका लागि अयोग्य घोषणा गरेको थियो ।

भारतमै अवैध मानिएको सोही विश्वविद्यालयबाट विभिन्न विषयमा स्नातक उत्तीर्ण गरी समकक्षताका लागि त्रिविमा निवेदन दिएका विद्यार्थीहरूको हकमा अहिले छानबिन सुरु गरिएको हो । त्रिविको यो कदमले विदेशमा अध्ययन गर्ने विद्यार्थी र शैक्षिक संस्था छनोटको विषयमा पुनस् एकपटक गम्भीर बहस सिर्जना गरिदिएको छ ।

त्रिविद्वारा सार्वजनिक गरिएको नामावलीमा सिभिल इन्जिनियरिङ, कमर्स, र बिजनेस एडमिनिस्ट्रेसन लगायतका प्राविधिक तथा प्रशासनिक विषय अध्ययन गरेका विद्यार्थीहरू रहेका छन् । केन्द्रले तोकिएको समयभित्र प्रमाण पेश गर्न नसकेमा उनीहरूलाई यसअघि प्रदान गरिएका वा प्रक्रियामा रहेका समकक्षता पत्रहरूको वैधता स्वतः संकटमा पर्ने देखिन्छ ।

यो घटनाले विशेष गरी भारतीय विश्वविद्यालयहरूमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूले भर्ना हुनुअघि सम्बन्धित संस्थाको मान्यता र गुणस्तरबारे पर्याप्त सजगता अपनाउनुपर्ने सन्देश दिएको छ ।


सम्बन्धित समाचार