Logo

१४ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले क्रिकेट मैदान खाली गर्न पत्राचार गरेसँगै उत्पन्न अन्योललाई सरकारले चिर्ने प्रयास गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पार्नुभएको छ । सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले राज्यको ठूलो लगानी भइसकेकाले दुवै सरकारी निकायबीच समन्वय गरी मैदानको संरक्षण गरिने बताउनुभयो ।

त्रिविले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई पत्र पठाएपछि क्रिकेट प्रेमी र सरोकारवालाहरूमाझ चिन्ता बढेको थियो ।

मैदानको भविष्यलाई लिएर प्रवक्ता पोखरेलले आजै बिहान त्रिविका उपकुलपति लगायतका पदाधिकारीहरूसँग सकारात्मक छलफल भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार त्रिविको उद्देश्य मैदान नै खाली गराउने भन्दा पनि सकिन लागेको ‘लिज’ सम्झौतालाई कानुनी रूपमा नवीकरण गर्नु रहेको छ ।

त्रिवि र क्यानबीचको वर्तमान सम्झौता यही महिना सकिन लागेकाले नयाँ सर्तसहितको सम्झौता (लिज एग्रिमेन्ट) गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । यसअघि त्रिविले क्रिकेट प्रतियोगिताका कारण प्राज्ञिक वातावरणमा असर पुगेको भन्दै सम्झौता थप नगर्ने संकेत दिए पनि सरकारको मध्यस्थतापछि अब नयाँ सम्झौताको बाटो खुलेको छ ।

त्रिवि र क्यानबीच हुने नयाँ सम्झौताले क्रिकेट खेल र विश्वविद्यालयको पढाइ दुवैलाई सन्तुलित रूपमा अघि बढाउने विश्वास लिइएको छ । ‘नयाँ खालको लिज एग्रिमेन्टसहित प्रक्रिया अघि बढ्छ, यसमा कुनै समस्या छैन,’ मन्त्री पोखरेलले आश्वस्त पार्नुभएको छ ।

यस निर्णयले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताहरू सञ्चालन हुने मुख्य थलोका रूपमा रहेको कीर्तिपुर मैदानको अनिश्चितता तत्कालका लागि अन्त्य गरिदिएको छ । सरकारले दुवै निकाय राज्यकै अंग भएकाले भत्काउने वा हटाउने भन्दा पनि व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।


सम्बन्धित समाचार