Logo

१४ बैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीका कारण शनिबारदेखि ठप्प बनेको बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ ।

शनिबार साँझ रोशी खोलाले विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू बगाएपछि यो महत्वपूर्ण सडक खण्ड अवरुद्ध हुन पुगेको थियो। सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीको निरन्तर प्रयासपछि क्षतिग्रस्त संरचनाहरूको मर्मत गरी सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी साधन चल्न थालेका हुन् । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले कडा मेहेनतपछि यातायात पुनः सुचारु गराउन सफल भएको जानकारी दिनुभयो ।

खोलाको बाढीले काभ्रेतर्फका चौकीडाँडा, घुमाउने, चारसय बेँसी, नार्के, चिउरीबास, कालढुंगा र सिन्धुलीतर्फका आँपघारी तथा नेपालथोक लगायतका क्षेत्रमा डाइभर्सन पूर्ण रूपमा क्षति गरेको थियो । सडक विभागले रोशी खोलाकै किनार हुँदै तत्कालका लागि अस्थायी बाटो तयार गरेर सवारी साधन पास गराउने व्यवस्था मिलाएको छ । सडक पुनः खुलेपछि राजमार्गमा अड्किएका यात्रु र सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन् ।

राजमार्ग सञ्चालनमा आए पनि वर्षाको समयमा खोलामा आउने बहावलाई मध्यनजर गर्दै सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । सडकको अवस्था र यात्राका बारेमा थप जानकारी लिन चाहने यात्रुहरूले नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ । अस्थायी रूपमा सञ्चालन गरिएको यो डाइभर्सनलाई थप सुरक्षित बनाउने कार्य जारी रहने सडक डिभिजन कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार