१५ बैशाख, चितवन । माडी नगरपालिका भित्र दशकौँदेखि बसोबास गर्दै आएको लोपोन्मुख बोटे समुदाय आज पनि प्रकृति, संस्कृति र परम्परासँग गहिरो रूपमा गाँसिएको जीवन बाँचिरहेको छ। खोलानदी, जंगल र प्राकृतिक स्रोतसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएको यो समुदाय अहिले आफ्नो मौलिक पहिचान जोगाउने संघर्षसँगै परिवर्तनको यात्रामा अघि बढिरहेको छ।
नगरपालिकाभित्र हाल छ वटा वडामा बोटे समुदायको उपस्थिति रहेको छ। माडी क्षेत्रमा कुल जनसङ्ख्या करिब १ हजार ७ सय १९ रहेको अनुमान गरिन्छ। विशेषगरी वडा नम्बर १ अन्तर्गत बनकट्टा क्षेत्रलाई बोटे समुदायको मुख्य केन्द्रका रूपमा लिइन्छ, जहाँ करिब १२० घरधुरीमा झण्डै ६ सय जनाको बसोबास छ । पाण्डवनगर क्षेत्रमा ४० घरधुरीमा ३३० जना, लक्ष्मनियामा ७ घरधुरीमा ३१ जना, वडा नम्बर २ को भैरवपुरमा २० घरधुरीमा करिब १०० जना, वडा नम्बर ३ को पौवारीमा ४१ घरधुरीमा १८५ जना र बेलुवामा २० घरधुरीमा १०० जना बसोबास गर्छन् ।
त्यस्तै वडा नम्बर ६ को हरिनगरमा ३ घरधुरीमा २० जना, वडा नम्बर ८ को घागर क्षेत्रमा १३ घरधुरीमा ४८ जना तथा वडा नम्बर ९ अन्तर्गत गणेशकुञ्ज, कृष्णनगर र कान्छी बगैं क्षेत्रमा क्रमशः ३० घरधुरीमा १३० जना, १३ घरधुरीमा ६५ जना र २२ घरधुरीमा ११० जना बोटे समुदायका मानिसहरू बसोबास गर्दै आएका छन् ।

परम्परागत रूपमा नदीकिनारमा बसोबास गर्ने, माछा मारेर जीविकोपार्जन गर्ने र जंगलसँग निर्भर रहने बोटे समुदायको जीवनशैली पछिल्लो समय परिवर्तन हुँदै गएको छ। अहिले उनीहरू कृषि, पशुपालन, साना व्यवसाय, सरकारी सेवा तथा वैदेशिक रोजगारीतर्फ समेत आकर्षित हुन थालेका छन्। नेपालभर करिब १५ हजार जनसङ्ख्या मात्र रहेको बोटे समुदाय लोपोन्मुख जातिको सूचीमा पर्दछ।
संस्कृतिको दृष्टिले बोटे समुदाय प्रकृतिसँग अत्यन्त नजिक छ। उनीहरूको धार्मिक आस्था खोला, नदी, वनस्पति र प्राकृतिक तत्वहरूसँग जोडिएको छ। बाँस, कुरिलो जस्ता वनस्पतिको पूजा गर्ने परम्परा उनीहरूको धार्मिक अभ्यासको महत्वपूर्ण हिस्सा हो। दशैं, तिहार र तीज मनाइए पनि साउने संक्रान्ति उनीहरूको प्रमुख पर्व हो, जसलाई नयाँ वर्षको रूपमा समेत मनाइन्छ। यस अवसरमा खोला-नदीको पूजा गर्ने र आफन्त तथा इष्टमित्रलाई बोलाएर माछाका परिकार खुवाउने परम्परा अझै जीवित छ।
बोटे समुदायको आफ्नै मौलिक भाषा भए पनि हालसम्म यसको लिखित साहित्य विकास हुन सकेको छैन। हालै वर्ण निर्धारणको प्रयास सुरु हुनु भाषा संरक्षणतर्फको महत्वपूर्ण कदम मानिन्छ। मृत्यु संस्कार पनि फरक प्रकारको छ-मृत्युपछि पाँच दिनसम्म कठोर क्रिया बस्ने, घरभित्र होइन बाहिर छाप्रो बनाएर बालुवामा सुत्ने परम्परा अझै कायम छ। क्रियाकर्ममा पण्डितको आवश्यकता नपर्ने र ज्वाइँ–चेलाको भूमिका महत्वपूर्ण हुने गर्दछ। यही कारण वार्षिक श्राद्ध गर्ने चलनसमेत छैन।
२०७७ सालदेखि वडा नम्बर १ को बनकट्टा क्षेत्रमा बोटे सामुदायिक होमस्टे सञ्चालनमा आएपछि समुदायको जीवनशैलीमा नयाँ आशा थपिएको छ। करिब ७० जनासम्मको पाहुना क्षमता रहेको उक्त होमस्टेमार्फत बोटे समुदायले आफ्नो संस्कृति, नाच, खानपान र परम्परागत जीवनशैली प्रत्यक्ष रूपमा प्रस्तुत गर्दै आएका छन्। स्थानीय अगुवा जगनारायण बोटेका अनुसार होमस्टेले समुदायको भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ।

बोटे समुदायको नाचगान पनि विशिष्ट छ। जग्य नाच, मछ्यौली नाच, गोदेली नाच र सोल्टी–सोल्टिना नाच उनीहरूको सांस्कृतिक पहिचान हुन्। विशेषगरी मछ्यौली नाच चाडपर्वमा बढी प्रस्तुत गरिन्छ। पोशाक अन्य जनजातिसँग मिल्दोजुल्दो भए पनि आफ्नै मौलिक पहिचान झल्किने खालको हुन्छ ।
माडी प्रज्ञा प्रतिष्ठानले लोपोन्मुख समुदायसहित सबै जातजातिको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षणमा विशेष ध्यान दिएको छ । माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले भने, “बोटे समुदाय मात्र होइन, माडीभित्र रहेका सबै जातजाति, समुदाय र संस्कृतिको मौलिक पहिचान जोगाउनु हाम्रो साझा जिम्मेवारी हो । विशेषगरी लोपोन्मुख अवस्थामा पुगेका बोटे समुदायको भाषा, धर्म, संस्कार, परम्परा, लोकनाच, लोकगीत र जीवनशैलीलाई दस्तावेजीकरण गर्दै भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्नु नै माडी प्रज्ञा प्रतिष्ठानको प्रमुख उद्देश्य हो ।
हामीले अहिले विभिन्न अध्ययन, अभिलेखीकरण र सांस्कृतिक संरक्षणका कार्यक्रमहरू अघि बढाइरहेका छौं, जसले बोटे समुदायको अस्तित्वलाई मात्र होइन, उनीहरूको पहिचानलाई अझ सशक्त बनाउन मद्दत पुर्याउनेछ। समुदाय आफैँ पनि आफ्नो संस्कृति जोगाउन सक्रिय छ, र स्थानीय सरकार तथा सम्बन्धित निकायसँगको सहकार्यले यो प्रयास अझ प्रभावकारी बन्ने विश्वास हामीले लिएका छौं।”

त्यसैगरी माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतोले बोटे समुदायको संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ। उहाँका अनुसार, “दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान, पूर्वाधार विकास, सांस्कृतिक संरक्षण र आर्थिक सशक्तीकरणमा नगरपालिका निरन्तर लागिपर्नेछ। प्रकृतिसँग गाँसिएको बोटे समुदायको जीवनशैली माडीको पहिचान हो।”
प्रकृति, संस्कृति र परम्पराको त्रिवेणीका रूपमा रहेको बोटे समुदाय आज परिवर्तनको यात्रामा भए पनि आफ्नो मौलिक पहिचान जोगाउने दृढ प्रयासमा देखिन्छ । सरकारी निकाय, सामाजिक संघसंस्था र समुदायको संयुक्त पहलले यो लोपोन्मुख समुदायको भाषा, संस्कृति र जीवनशैली भविष्यका पुस्तासम्म सुरक्षित रहने अपेक्षा गर्न सकिन्छ ।

















