१५ बैशाख, काठमाडौं । नेपाली सुनचाँदी बजारमा विगत केही समयदेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्यमा मंगलबार ठुलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो । यस गिरावटसँगै मंगलबारका लागि छापावाल सुनको नयाँ दर प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन सोमबार मात्रै सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला ३ लाख ५ सय रुपैयाँ पुगेर कारोबार भएको थियो, जुन नेपाली बजारकै अहिलेसम्मको उच्च विन्दु थियो ।
मूल्यमा आएको यो परिवर्तनसँगै १० ग्राम सुनको मूल्य पनि २ लाख ५५ हजार ६० रुपैयाँमा झरेको छ । सुनसँगै चाँदीको मूल्यमा पनि मंगलबार उल्लेख्य गिरावट देखिएको छ । महासंघले सार्वजनिक गरेको विवरणअनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँमा खरिद-बिक्री भएको थियो भने आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ४० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूको भनाइ छ ।

















