Logo

१५ बैशाख, काठमाडौं । पछिल्लो समय विवादमा तानिएको चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले यही २२ वैशाखसम्म चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो । वादी समुदायको हकहित र प्रतिष्ठामा आँच पुगेको भन्दै रोशनी नेपालीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।

यम थापाको निर्देशन र षट्कोण आर्ट्सको निर्माणमा तयार भएको यो चलचित्र विशेष गरी वादी समुदायका महिलाहरूले भोग्नुपर्ने सामाजिक सङ्घर्षको कथावस्तुमा आधारित छ ।

यद्यपि, चलचित्रमा प्रयोग गरिएका केही शब्द तथा दृश्यहरूले समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको दाबी निवेदक पक्षको छ । यही १८ वैशाखदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारीमा रहेको यस चलचित्रका लागि अदालतको यो आदेशले निर्माण पक्षलाई ठुलो धक्का दिएको छ ।

रोचक कुरा के छ भने, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सोमबार मात्रै यो चलचित्रलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको थियो ।

सेन्सर बोर्डबाट अनुमति पाएर सार्वजनिक प्रदर्शनको अन्तिम तयारीमा जुटेको फिल्ममाथि कानुनी चुनौती खडा भएपछि अब यसको भविष्य २२ वैशाखको अर्को आदेशमा निर्भर रहने देखिएको छ । सामाजिक यथार्थ चित्रण गर्ने भनिएको चलचित्र र समुदायको संवेदनशीलताबीचको यो विवादले यतिबेला कला क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।


सम्बन्धित समाचार