Logo

१५ बैशाख, काठमाडौं । वाणिज्य बैंक र वित्तीय संस्थाहरूले उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिन सकेन ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १६ अंकले ओरालो लागेर २७७० विन्दुमा ओर्लिएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको बजारमा आज ठूलो संख्यामा कम्पनीहरूको सेयर मूल्य घट्दा लगानीकर्ताहरूको मनोबल कमजोर देखिएको हो ।

यद्यपि, बजार घटे पनि कारोबार रकममा भने वृद्धि भई ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब पौने २ अर्बले बढी हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेका अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको नाफा र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ। धेरैजसो संस्थाहरू लाभांश दिन सक्ने क्षमतामा देखिए तापनि बजारले त्यसलाई खासै उत्साहका साथ ग्रहण गरेन ।

ब्याज र साँवा असुलीमा अझै चुनौती कायम रहनु तथा पछिल्लो समय उद्योगी व्यवसायीमाथि भइरहेको धरपकडको मनोवैज्ञानिक असरले बजारलाई दबाबमा राखेको विश्लेषण गरिएको छ । तथ्याङ्कमा नाफा बढे पनि खराब कर्जा व्यवस्थापनको चुनौतीले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

मंगलबारको कारोबारमा अन्य समूहबाहेक बाँकी सबै उपसमूहका सूचकहरू राताम्मे देखिएका छन् । जम्मा ४२ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । विशेष गरी होटल तथा पर्यटन र उत्पादनमूलक क्षेत्रमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा १५ प्रतिशतको पहिरो जाँदा अन्य केही जलविद्युत कम्पनीहरूले पनि झन्डै १० प्रतिशत मूल्य गुमाएका छन् । धेरै कारोबार हुनेमा पाल्पा सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स जस्ता कम्पनीहरू अग्रस्थानमा रहेका छन् ।


सम्बन्धित समाचार