Logo

१५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विशेष महाधिवेशन र निर्वाचन आयोगको पछिल्लो निर्णयलाई २४ भदौको घटनाकै निरन्तरताको रूपमा टिप्पणी गर्नुभएको छ ।

मंगलबार धुम्बाराहीमा आयोजित आफू पक्षीय नेताहरूको भेलालाई सम्बोधन गर्दै खड्काले पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनकै जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ बहुमत हासिल गरेको सनसनीपूर्ण समीक्षा सुनाउनुभएको हो । कानुनी राज्यमा संविधान र पार्टी विधानको प्रतिकूल हुने गरी ‘सेटिङ’ को भरमा निर्वाचन आयोगले निर्णय गर्ला भन्ने आफूहरूले नसोचेको उहाँको दाबी छ ।

नेता खड्काले २४ भदौमा भएको घटनाले नेपालको लोकतान्त्रिक इतिहास र परिवर्तनका उपलब्धिहरूलाई खरानी बनाएको आरोप लगाउनुभएको छ। सोही सिलसिलाको कडीको रूपमा विशेष महाधिवेशन आएको र यसले कांग्रेसलाई दुई फ्याकमा विभाजित गरिदिएको उहाँको विश्लेषण छ ।

‘आधा कांग्रेस बाहिर र आधा कांग्रेस विशेष महाधिवेशनमा हुँदाको फाइदा रास्वपाले उठाएको हो,’ खड्काले भन्नुभयो । निर्वाचन आयोगको निर्णय आउनु १० दिन अगाडिदेखि नैुसेटिङु को हल्ला चलेको र नभन्दै निर्णय पनि सोही अनुरूप आएको भन्दै उहाँले असन्तुष्टि पोख्नुभएको छ ।

यद्यपि, लोकतान्त्रिक पार्टी भएकाले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरेको बताउँदै खड्काले अदालतको व्याख्यामा भने आफ्नो चित्त नबुझेको प्रष्ट पार्नुभएको छ । संयुक्त इजलासको निर्णयविरुद्ध सर्वोच्चमै पुनरावेदन जाने ६० दिनको कानुनी म्याद अझै बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो। यस विषयमा कानुन व्यवसायीहरूसँग निरन्तर छलफल भइरहेको र पुनरावेदनमा जाने वैधानिक बाटो अझै खुला रहेको उहाँको भनाइ छ ।


सम्बन्धित समाचार