१५ वैशाख,वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विद्युतीय सवारीसाधन आयात उल्लेखनीय रूपमा बढेको छ। यस अवधिमा कुल दुई अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी नेपाल भित्रिएका छन्।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशतले बढी हो। गत वर्ष नौ महिनामा एक अर्ब ४८ करोड रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको थियो, भने यस वर्ष त्यो रकम एक अर्ब ५० करोड रुपैयाँले बढेको हो।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षमा विशेषगरी विद्युतीय जिप, कार र भ्यानको आयात उल्लेख्य रूपमा बढेको छ। नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँ बराबरका ४९३ वटा जिप, कार र भ्यान आयात भएका छन्, जबकि गत वर्ष सोही अवधिमा ४८ करोड रुपैयाँका १७२ वटा मात्रै आयात भएका थिए।
यस्तै, विद्युतीय मोटरसाइकलको आयात पनि तीव्र रूपमा बढेको छ। यस वर्ष ९६ करोड रुपैयाँ बराबरका सात हजार ३९८ वटा मोटरसाइकल आयात भएका छन्, जुन गत वर्षको चार हजार २२७ वटा (५५ करोड रुपैयाँ) को तुलनामा उल्लेखनीय वृद्धि हो।
विद्युतीय तीन पाङ्ग्रे सवारीसाधनतर्फ पनि आयात बढ्दो देखिएको छ। चालु आवमा ५३ करोड रुपैयाँका चार हजार ६०६ वटा तीन पाङ्ग्रे सवारी आयात भएका छन्, जबकि गत वर्ष सोही अवधिमा ४५ करोड रुपैयाँका तीन हजार ६१३ वटा मात्र आयात भएका थिए।
विद्युतीय सवारीप्रति बढ्दो आकर्षण, इन्धनको बढ्दो मूल्य र वातावरणमैत्री प्रविधिप्रति झुकावका कारण आयातमा यस्तो वृद्धि देखिएको सरोकारवालाहरू बताउँछन्।



















