१६ बैशाख, चितवन । चितवनको माडी क्षेत्रमा जन्मिएका भीम चापागाईं युवावस्थामै केही गर्ने चाहनाले २०७२ सालतिर विदेशिए । दुबईको कठोर वातावरणमा पसिना बगाउँदै बिताएका वर्षहरूले उनलाई आर्थिक रूपमा त चलायमान बनाए, तर मनभित्रको खालीपन कहिल्यै भरिएन ।
बिहानदेखि बेलुकासम्मको निरन्तर श्रम, थकान र एक्लोपनले उनलाई भित्रैदेखि थिच्दै लग्यो। तीन वर्षपछि उनी स्वदेश फर्किए, तर गाउँमा अवसर अभावकै कारण फेरि इजराइलतिर लाग्नुपर्यो ।
विवाहपछि जिम्मेवारी थपिएको थियो, तर परदेशको जीवन झन् कठिन हुँदै गयो। परिवार टाढा, भाषा र परिवेश फरक—यहीबीच मनले बारम्बार आफ्नै माटो सम्झिन थाल्यो। अन्ततः उनले विदेश जीवन त्यागेर माडी फर्किने निर्णय गरे ।
गाउँ फर्कँदा उनका बुबाले सुरु गर्नुभएको “माडी भ्यु सामुदायिक होमस्टे” ले उनलाई नयाँ बाटो देखायो। सानो–सानो कामबाट सुरु गर्दै उनले होमस्टेमा आफूलाई जोड्न थाले—पाहुनाको सेवा, सरसफाइ, पशुपालन सबै काममा सक्रिय भए। बिस्तारै यही काम उनको आत्मसम्मान र पहिचान बन्न पुग्यो ।
आज उनको जीवन फेरिएको छ। परिवारसँगै बस्दै, आफ्नै ठाउँमा काम गर्दै उनी सन्तुष्ट जीवन बिताइरहेका छन् । उनका दुई साना छोराछोरी छन्, श्रीमती शिक्षण पेशामा संलग्न हुनुहुन्छ। बिहानदेखि बेलुकासम्मको दिनचर्या सरल भए पनि अर्थपूर्ण बनेको छ ।
होमस्टेमा आउने पाहुनालाई घरकै अन्न, विषादीरहित तरकारी र स्थानीय स्वादले स्वागत गर्ने चलन बसिसकेको छ। भीमका लागि यो केवल व्यवसाय होइन, संस्कृतिको जगेर्ना र आत्मीयताको आदानप्रदान हो ।

उनी भन्छन्, परदेशले पैसा दिन सक्छ, तर अपनत्व दिन सक्दैन। आफ्नै ठाउँमा काम गर्दा पाइने सम्मान, परिवारको साथ र मानसिक शान्ति नै जीवनको साँचो मूल्य भएको उनी महसुस गर्छन् ।
उनको अनुभवले अहिले अन्य युवाहरूलाई पनि गाउँमै केही गर्न प्रेरित गरिरहेको छ । कृषि, पशुपालन, मौरीपालन र होमस्टे जस्ता क्षेत्रमा नयाँ प्रयासहरू देखिन थालेका छन् ।
भीमको कथाले एउटा सन्देश दिन्छ—सपना पूरा गर्न परदेश जानु नै एकमात्र बाटो होइन । आफ्नै माटोमा पनि सम्भावना खोज्न सकिन्छ, यदि लगन, धैर्य र सही सोच छ भने।

















