Logo

१६ वैशाख,वीरगञ्ज । आर्थिक अभावका कारण विवाह गर्न समस्या भोगिरहेका दुई विपन्न परिवारका छोरीहरूलाई उपकार सेवा नेपाल ले सहयोग प्रदान गरेको छ।

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ सुगौली दा प निवासी स्वर्गीय पल्ट राम र माता लालमुनी रामकी छोरी कुमारी सिता रामको विवाहका लागि आवश्यक खर्च जुटाउन नसकिएको अवस्थामा सहयोग गरिएको हो। बुवाको निधनपछि परिवारमा आमाबाहेक आम्दानी गर्ने अन्य सदस्य नभएकाले उनीहरूको अवस्था दयनीय रहेको थियो।

यस विषयमा जानकारी पाएपछि उपकार सेवा नेपालकी अध्यक्ष बिध्या कुमारी सरावगीको पहलमा सिता रामको विवाहका लागि ६० किलो चामल, ५ किलो दाल, २० किलो आलु, २ किलो स्वाबिन, ३ थान साडी, १ सेट घाघरा चोली तथा नगद रकमसहित अन्य आवश्यक सामग्री उपलब्ध गराइएको छ। उक्त सामग्री संस्थाकी अध्यक्ष बिद्या देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले हस्तान्तरण गरेका हुन्।

यसैगरी, भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला रामगढवा थाना अन्तर्गत मछली बजार निवासी स्वर्गीय बालदेव साह कलवारकी छोरी कुमारी मुस्कानको विवाहका लागि पनि सहयोग गरिएको छ। उनको विवाह बारा जिल्ला बिश्रामपुर गाउँपालिका वडा नं. ४ बलिरामपुर निवासी हजारी साह कलवारका छोरा मुकेश कुमार गुप्तासँग हुन लागेको छ। बुवाको निधनपछि परिवारमा आमाबाहेक अन्य कमाउने सदस्य नभएकाले विवाह खर्च जुटाउन समस्या परेको थियो।

उक्त अवस्थालाई ध्यानमा राख्दै उपकार सेवा नेपालले मुस्कानको विवाहका लागि ६० किलो चामल, १ थान साडी, १ सेट सलवार सूट, १ थान तन्ना, १० किलो चिउरा, ५ किलो नुन, ५ किलो चना, ४ किलो खाने तेल तथा मसला लगायत आवश्यक सामग्री उपलब्ध गराएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष बिद्या देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारु सहभागी रहेका थिए।

संस्थाले विपन्न तथा असहाय परिवारलाई लक्षित गरी सामाजिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


सम्बन्धित समाचार