१६ बैशाख, काठमाडौं । रुपन्देहीको बुटवल–बर्दघाट सडक खण्ड अन्तर्गत गणेशनगरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका छन् ।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रो बस र विपरीत दिशा नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो एकआपसमा भीषण रूपमा ठोक्किँदा यो दुःखद घटना भएको हो । दुर्घटनामा परेर अन्य २७ जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि देवदह मेडिकल कलेज पुर्याइएको थियो । उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरी चौकी देवदह खैरेनीले पुष्टि गरे पनि मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन ।
हाल अस्पतालमा उपचाररत २७ जनामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। तीव्र गति वा प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले यसबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।

















