Logo

१७ वैशाख,वीरगञ्ज । तेज शमशेर जबरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले पार्टी अध्यक्ष रवि लामिछाने को निवासमा पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

वीरगञ्ज महानगरपालिका–१६ निवासी जबरा पछिल्लो समय स्वतन्त्र राजनीतिक गतिविधिमा सक्रिय थिए। केही दिनअघि उनले बालेन शाहको समर्थनमा र्‍याली निकालेपछि स्थानीय राजनीतिक वृत्तमा चर्चामा आएका थिए।

मेयर पदमा उम्मेदवारी दिने मनसाय सार्वजनिक गर्दै आएका जबराको रास्वपा प्रवेशपछि अब उनको सम्भावित उम्मेदवारीबारे थप चर्चा सुरु भएको छ। उनले पार्टी प्रवेशपछि सामाजिक सञ्जालमा फोटो र स्टाटस सार्वजनिक गरेका छन्, जसपछि समर्थक र आलोचकबीच बहस बढेको छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार वीरगञ्जमा रास्वपाको गतिविधि विस्तार हुँदै जाँदा मेयर पदका लागि आकांक्षीहरूको संख्या पनि बढ्दै गएको देखिन्छ। यसले आगामी स्थानीय राजनीतिक प्रतिस्पर्धालाई अझ चासोपूर्ण बनाउने संकेत गरेको छ।


सम्बन्धित समाचार